दसैंमा हिमालपारिका भेडाच्याङ्ग्रा, स्याउ पोखरामा
कम खर्चिलो बन्दै छ दसैं

यसअघि दुई वर्षसम्म लगातार कोरोनाका कारण खुलेर दसैं मनाउन नपाएका नेपालीहरूले यसपालि भने एक हप्ताभन्दा बढी सार्वजनिक बिदासँगै घुमघाममा निस्कँदै दसैं मनाउने तयारी गरेका छन् । नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा प्राय: अन्य वर्षमा चार–पाँच दिन मात्र बिदा हुने गरेकोमा यस वर्ष भने दुईवटा शनिबार नै बिदामा परेकाले कोजाग्रत पूर्णिमासहित करिब आठ दिन बिदा हुने हुँदा यस समयलाई सरकारी कर्मचारीदेखि निजी क्षेत्रमा विभिन्न पेसा–व्यवसाय अपनाएका व्यक्तिसहित अन्य व्यक्तिहरूसमेत घुमघाममा निस्कने तयारी गरेका हुन् ।
परम्परागत रूपमा मनाइँदै आएको दसैं पर्वमा अन्य चार्डपर्वभन्दा केही बढी बिदा हुने हुँदा विभिन्न कामविशेषले टाढिएका घरपरिवार र छरछिमेकलाई समेत मिलन गराउने पर्वका रूपमा स्थापित हँुदै आएको छ । त्यसो त रोजगारीका लागि विदेश गएका व्यक्तिहरूलाई पनि आफ्नो मातृभूमिमा फर्किन दसैं आउनुपर्छ । दसैं पर्वमा गाउँघरमा हरेक टोलटोलमा सरसफाइदेखि सामान्य बाटो मर्मतसम्भार गर्ने गरेको पाइन्छ ।
कोरोना संक्रमणको प्रभाव कम भएसँगै हाल गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा हजारौं पर्यटक घुमघाममा आउने निश्चित छ । विश्वका चर्चित ट्रेकिङ रुट अन्नपूर्ण आधार शिविर, माछापुच्छ«े मोटल ट्रेक, पुन हिललगायतका पर्यटकीय गन्तव्यको ट्रान्जिट प्वाइन्ट हो— पोखरा । भूपी शेरचन राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गको समेत रुटमा पर्ने पोखराले प्राकृतिक मनोरम दृश्यले प्राय: जोकोहीलाई मोहित पार्ने गरेको छ । भूकम्पको प्रभावबाट थलिएको पोखरा क्षेत्रको पर्यटन तथा उद्योगी–व्यवसायीहरू कोरोनाको मारमा झनै प्रभावित त केही विस्थापित नै हुनुपर्यो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूबाट चर्को ब्याजमा ऋण लिएका व्यवसायीहरूलाई बजारमा आर्थिक कारोबार कम हुँदा त्यसले असर पारेको छ ।
अन्य दसैंभन्दा यस वर्षको दसैं पर्व आर्थिक अभावका कारण कम खर्चमा दसैं मनाउने तयारी भएको पाइन्छ । दसैंमा नयाँ नोट, मीठा–मीठा खानेकुरा, मासुलगायतका विषयले दसैंको झल्को दिने गरेको भए पनि घटस्थापनादेखि हाल यस्ता विषयमा खासै धेरै चर्चा भएको पाइँदैन ।
कम खर्चमा दसैं मनाउने तयारी
आर्थिक अवस्था कमजोर बन्दै जाँदा अधिकांश मानिस खुम्चिँदै आफ्नो घाँटी हेरी हाँड निल्ने गरी खर्च गर्ने तयारीमा रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताए । उनले भने, “मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने प्राय: हरेक वर्ष मैले दसैंको अवसरमा एउटा च्याङ्ग्रा खरिद गर्दै आएकोमा यसपालि सुरुमै प्रतिच्याङ्ग्रा ४५ देखि ५० हजार पर्ने खबरले यसपालि दसैंका लागि मासु पलसबाटै ल्याउने योजनामा छु ।” अन्य वर्षको जस्तो यसपालिको दसैं पर्वमा हर्ष र उल्लास कम हुने भएको उनको बुझाइ छ ।
घटस्थापनादेखि दसैं नजिकिँदै गर्दा हरेक वर्ष बजारमा किनमेल गर्नेहरूको भीडभाड हुने गरे पनि यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा खासै भीडभाड नभएको अध्यक्ष प्रजापतिले बताए । कोरोनाले केहीलाई गुमाएसँगै केही व्यवसायी विस्थापित हुन पुगेको अवस्थामा राज्यबाट आफूहरूले अपेक्षाकृत राहत प्याकेज नपाउँदा निकै निराश हँुदै जेनतेन व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए ।
हाल बैंकहरूले १४ प्रतिशत डिपोजिटमा ब्याज दिने सार्वजनिक गर्नुले कर्जा लगानी अब करिब १७/१८ प्रतिशत पुग्ने अवस्थामा कसरी व्यवसाय सञ्चालन हुन सक्छ ? भनी उनले प्रश्नसमेत गरे । १ हजार ६ सय पर्ने चामलको बोरा हाल २ हजारभन्दा बढी हुन थालेपछि गरिब परिवारमा हाल दालचामलको समेत जोहो गर्न कठिन हुने अवस्थामा पुगेको बताउँदै उनले विकास खर्च समयमै हुन नसक्दा बजारमा पैसा नआएका कारण पनि आर्थिक चलायमान कम भएको जनाए ।
रेमिट्यान्सले धानिएको नेपालमा पछिल्लो समयमा रेमिट्यान्स कम भित्रिनु, आयातमुखी भए पनि चाहेजति सामान चाइना र भारतबाट भित्रिन नसक्नु, कृषि उत्पादन गर्ने अधिकांश नेपालका जमिन बाँझो हुनु, व्यवसायीलाई चर्काे ब्याज, घरभाडालगायतका समस्याले व्यवसायीहरू निकै आर्थिक मारमा परेको अध्यक्ष प्रजापतिले बताए । पोखरामा रहेका करिब ३५ प्रतिशतजसो मानिस दसैंको अवसरमा केही दिनका लागि बाहिरिने गरेको उनले दाबी गरे ।
गण्डकी प्रदेशको राजधानी पोखरामा ५ लाखभन्दा बढी जनसंख्या छ । पर्यटनको राजधानीका रूपमा रहेको पोखरामा यसपालि दसैंको अवसरमा आन्तरिक पर्यटकहरूको भने उत्साहजनक रूपमा सहभागिता हुने आफूहरूले समेत अपेक्षा गरेको अध्यक्ष प्रजापतिले बताए ।
दसैंमा पोखरा आउने पर्यटकलाई विशेष प्याकेज
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले देशका विभिन्न क्षेत्रबाट यसपालि पोखरामा दसैं पर्व हर्ष र उल्लासका साथ मनाउने गरी आउन निम्तो गरेका छन् । पोखराको पर्यटन व्यवसायीहरूको छाता संस्था परिषद्ले विभिन्न पर्यटनसम्बन्धी संस्थाहरूलाई दसैं छुट तथा प्याकेजका कार्यक्रमहरू ल्याउन सल्लाह दिएको छ । पोखरा आउने पर्यटकहरूलाई होटल आवासदेखि विभिन्न खानाको परिकारमा समेत विशेष छुटसहितको केही प्याकेज कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले जनाए । पोखरा क्षेत्रमा एकै रातमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने दाबी गरेका अध्यक्ष श्रेष्ठले पोखरा क्षेत्रमा पर्यटकस्तरीय करिब ९ सय होटल रहेको दाबी गरे ।
दसैं पर्वमा पोखरा आउने पाहुनालाई यसपालि विशेष स्वागत–सत्कार गर्न पोखरेली तयार रहेको परिषद्ले जनाएको छ । अघिल्ला दुई वर्ष खुलेर दसैं मनाउन नपाए पनि यस वर्ष भने फुल मेनुमा पर्यटकहरूलाई स्थानीयदेखि विभिन्न देशका खानाका परिवारको स्वाद दिन व्यवसायीहरू तयार रहेको अध्यक्ष श्रेष्ठले जनाए ।
केही आन्तरिक पर्यटकले दसैंमा विशेष गरी हिमालपारिका जिल्लामा उत्पादन हुने गरेका भेडाच्याङ्ग्रा, स्याउ, आलुलगायतका खानेकुराको पोखरामा खोजी गर्न थालेको उनले जनाए । पर्यटनको मुख्य सिजन मानिने यस अक्टोभर–नोभेम्बरको सुरुवातमै पर्यटकहरूको सुरुवात केही राम्रो भएको उनले बताए । पोखरा–काठमाडौं जोड्ने सडक मार्ग प्रभावकारी नहुनु, हवाई उडानमा विदेशीलाई सहज र सहुलियत दरमा टिकट उपलब्ध नहुनु, पदमार्गमा जाने पर्यटकहरूको बिमासम्बन्धी नीति सरकारबाट प्रस्ट नहुँदा युरोपियन मुलुकका पर्यटकहरूको संख्यामा गिरावट आएको उनले दाबी गरे । पोखरामा आन्तरिकसँगै एसियन मुलुकका पर्यटकहरू बढी आउन थालेको उनले जनाए । मित्रराष्ट्र चीन र भारतीय पर्यटकलाई मात्र लक्षित गरेर नेपालको पर्यटन क्षेत्र दिगो नहुने उनले दाबी गरे ।
पोखरामा अर्बको मासु
दसैंको अवसरमा पोखरा क्षेत्रमा करिब १ अर्बबराबरको मासुको बिक्री–वितरण हुने भएको छ । दसैं दक्षित हुने गरी पोखरामा हिमालपारिको जिल्ला मुस्ताङबाट भित्रिएका भेडाच्याङ्ग्रा, प्रदेशका विभिन्न जिल्लाबाट भित्रिएका खसीबोका, कुखुरा र राँगा तथा भैंसीको मासु मात्र करिब १ अर्बबराबरको बिक्री–वितरण हुने भएको व्यवसायीहरूले बताएका छन् । पोखरामा भेडा–च्याङ्ग्रा करिब १० हजार र खसीबोका करिब ८ हजारवटा बिक्री हुने अनुमान गरिएको कास्की खसीबोका व्यवसायी संघका ंसंस्थापक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए ।
कोरोनापछि बजारमा महँगी ह्वात्तै बढेसँगै कोरोनाबाट प्रभावित व्यवसायी र आमजनताले अझै खुलेर खर्च गर्न सक्ने अवस्था नभएका कारण यस वर्षको दसैंमा अधिकांशको घरमा खानेकुरामा धेरै नियन्त्रण हुने आफूहरूले पूर्वानुमान गरी यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब ५० प्रतिशत कम खसीबोका भिœयाउने भएको उनले जनाए । सहयोग संसार मिलीजुली पोखरा कृषि फार्मको नेतृत्वसमेत लिएका संस्थापक अध्यक्ष श्रेष्ठले यसअघि भारत हुँदै तराई क्षेत्रबाट समेत खसीबोका भिœयाउने गरेकोमा यस वर्षदेखि प्रदेशका जिल्ला हँुदै प्रदेशका छिमेकी जिल्लाबाट मात्र खसीबोका भिœयाउने विश्वास दिलाएका छन् ।
यसपालि पोखरामा खसीबोकाको करिब ५ सय ८० देखि ६ सय ५० प्रतिकेजी जिउँदो मासु बिक्री गर्ने उनले जनाए । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समयमा कर्जामा कडाइसहित ब्याजदरमा वृद्धि गरेसँगै व्यवसायीहरू मारमा परेको उनले दाबी गरे ।
सहारा फ्रुट्स प्रालिका हरिशंकर अग्रवालका अनुसार दसैं पर्वको अवसरमा मुस्ताङ क्षेत्रबाट स्याउ पोखरामा आउने बताए । पोखरामा विभिन्न खानाको कुरामा मात्र होइन, विभिन्न जनजातिका लगाउने पोसाकसमेत विभिन्न देशबाट भित्रिने गरेको छ । जाडो मौसम सुरु हुने भएकाले पनि दसैं पर्वमा जाडो मौसमका लत्ताकपडाको बिक्री–वितरण हुँदै छ ।
प्रदेशको राजधानी पोखरामा केन्द्रित हुने गरी यही असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएसँगै पोखरामा खेल पर्यटनको समेत उत्तिकै प्रवद्र्धन हुने लक्ष्य राखेको सदस्य राजेशकुमार गुरुङले बताए । उनका अनुसार प्रदेशका ११ जिल्लामध्ये कास्कीसहित ७ जिल्लामा विभिन्न खेलहरू हुने भएको छ । एनआरएनसहित ११ टिमको सहभागिता हुने उक्त खेलमा करिब १० हजारभन्दा बढी खेलाडी तथा अफिसियल सहभागी हुने भएका छन् ।
पछिल्लो समयमा पोखराको नयाँ पर्यटकीय उत्पादनको रूपमा पुम्दीकोटको विशाल महादेवको मूर्ति र सराङकोटमा हालै सञ्चालनमा आएको अन्नपूर्ण केबलकार हो । पोखरा आएका अधिकांश पर्यटकको रोजाइमा यी दुई पर्यटकीय गन्तव्य पर्ने गरेका छन् ।