दसैं खर्च जुटाउन आरानमा भ्याइनभ्याइ

उमेरले ६८ वर्ष पुगे तेह्रथुम, छथर गाउँपालिका–६, सुदापका नृर्पेन्द्र शंखर । उनी दिनभर आरनमा नै भेटिन्छन् । दसैं नजिकिँदै गर्दा उनी अझ बिहान सबेरैदेखि बेलुकी साँझसम्म आफ्नै आरनमा काम गरिरहेका हुन्छन् । दसैं खर्च जुटाउन उनी आफ्नै आरनमा १२ घण्टा काम गरिरहेका छन् । कृषि औजारका सामग्री बनाउन व्यस्त छन् । उनी र उनका छोराहरू एउटै आरनमा विभिन्न सामग्री बनाउँदै आएका छन् ।
सानैदेखि आरन पेसा रोजेका उनले छिप्पिँदो उमेर भए पनि आफ्नो कर्मलाई निरन्तरता दिँदै आएका छन् । धेरै युवाले गाउँ छाडे । कोही रोजगार बने, कोही भांैतारिरहेका छन् । रोजगारीको खोजीमा देशविदेश नै पुगे, तर उनी आफ्नै पेसामा रमाइरहेका छन् ।
उनी र उनका छोराहरू एउटै आरनमा विभिन्न सामग्री बनाउँदै आएका छन् । १३ वर्षको उमेरदेखि यो पेसा अँगालेका नृर्पेन्द्र अझै यही पेसामा रमाइरहेका भेटिन्छन् । दशक अघिसम्म बालीघरे काम गर्दै आएका उनी यतिबेला ज्यालामा मात्रै काम गर्दै आएका छन् । “बालीघरे काम गर्दा पाँच पाथी अन्नमा गर्नुपथ्र्याे । त्यो पनि दिन गाह्रो मान्थे । काम भने गराउँथे तर अहिले बालीघरेको काम छोडेर ज्यालामा गर्दै आएको छु,” उनले भने ।
यो पेसाबाट उनको जहान–परिवार चलाउन सहज बन्दै आएको छ । घर खर्च र पेट पाल्नका लागि उनलाई समस्या छैन । उनी भन्छन्, “हामीले गरेको श्रमको मूल्य पाएका छौं, तर बजारको भने समस्या छ । हामीले उत्पादन गरेको सामग्री बिक्री गर्न राम्रो बजार पाउने हो भने युवाहरू रोजगारीका लागि भौंतारिरहनुपर्ने अवस्था छैन,” उनले उत्पादन गरेका सामग्रीहरू स्थानीय बजारमा नै बिक्री गर्दै आएका छन् ।
मासिक २५ देखि ३० हजार आम्दानी गर्दै आएका छन् उनले । यही सामान बिक्रीबाट आएको आम्दानीले नै परिवारको घरखर्च टार्दै आएका छन् । उनी जस्तै छथर गाउँपालिका–१, आङदिमका इन्द्रबहादुर विक विगत ४० वर्षदेखि आरन पेसा गर्दै आएका छन् । उनको आम्दानीको स्रोत नै आरन बनेको छ । आरनबाटै विकले २० लाखबराबरको जेथो जोडेका छन् । समयसँगै घरेलु तथा साना उद्योग कार्यालय, तेह्रथुमको सहयोगमा आधुनिक प्रविधिको जडान गरी पेसालाई अझ व्यावसायिक बनाउँदै गएका छन् । विकले मासिक ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएका छन् ।
उनी भन्छन्, “हातमा सीप भयो भने परिवार धान्नैका लागि भौंतारिरहनु पर्दैन, घरमै बसेर पनी आम्दानी लिन सकिन्छ । युवाहरू रोजगारको खोजीमा विभिन्न मुलुकमा पुग्छन् तर मैले घरमै परिवारसँग रमाउँदै राम्रै आम्दानी लिँदै आएको छु ।” पछिल्लो समय आरन पेसामा युवाहरूको आकर्षण घट्दै गएको बेला यही पेसाबाट बर्सेनि लाखौं आम्दानी लिँदै आएका छन् ।
आफ्नो पेसालाई व्यावसायिक बनाउँदै लैजाने हो भने. रोजीरोटीका भौंतारिरहनु पर्दैन भन्ने कुरामा ढुक्क छन् शंंकर र विक । विगतमा बालीघरे काम गर्दै आएका आरन व्यवसायी पछिल्लो समय भने बालीघरे कामलाई छाड्दै गएका छन् । वर्ष दिनमा एकपटक मात्रै बाली पाउने गरेको र श्रम, मेहनत पनि नआउने गरेकाले बालीघरे काम छाड्दै गएको आरन व्यवसायीहरू बताउँछन् ।
नृर्पेन्द्र र इन्द्रजस्तै यहाँका युवाहरू आरन पेसाबाट नै परिवार धान्दै आएका छन् । खुकुरी, कोदालो, हँसिया, तरबार, कुटोलगायतका विभिन्न कृषि औजारहरू उत्पादन हुँदै आएका छन् । तेह्रथुमको ओख्रे, जिल्ला सदरमुकाम म्याङलुङ, वसन्तपुर, शुक्रबारे तथा धनकुटा जिल्लाको सिधुवा र संखुवासभाको खाँदबारीलगायतका स्थानहरूमा बिक्री गर्दै आएका छन् ।