Logo

डलरको भाउमा हुने उतारचढावको सीधा नकारात्मक असर नेपाली अर्थतन्त्रमा पर्ने देखिन्छ ।

कमजोर नेपाली मुद्राबाट फाइदा कसरी लिने

पछिल्ला करिब ६ महिनामा लगातारजस्तै भारतीय रुपैयाँ कमजोर हँुदै गएको छ । जसको कारण नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबार १ सय ३१ रुपैयाँ ४१ पैसा पुगेको छ । शुक्रबारका लागि केही घटेको भए तापनि भारतीय रुपैयाँ कमजोर नै रहेका कारण नेपाली मुद्रा पनि कमजोर नै रहने देखिन्छ । किनकि नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले विश्व बजारमा अमेरिकी डलर महँगो बन्दै गएको बताइएको छ । विदेशी लगानीकर्ताले भारतीय बजारबाट आफ्नो लगानी फिर्ता लग्न थालेकाले भारतीय रुपैयाँ लगातार कमजोर भएको छ । पछिल्लो समय विदेशी लगानीकर्ताहरूले भारतीय बजारबाट ५१ हजार करोड भारुभन्दा बढी फिर्ता लगिसकेको जनाइएको छ । साथै, सन् २०२२ मा हालसम्म भारतीय इक्विटी बजारबाट विदेशी पोर्टफोलियो निवेशक (एफपीआईए) ले २.१५ लाख करोड भारतीय रुपैया फिर्ता लगिसकेको पनि जनाइएको छ, जसका कारण भारतीय रुपैयाँ झन् कमजोर हुँदै गएको देखिन्छ । तर, भारतीय रुपैयाँ कमजोर भएका कारण नेपाली रुपैयाँ अमेरिकी डलरसँग ऐतिहासिक रूपमा महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढिरहेको छ । यसै पनि रूस तथा युक्रेनको युद्धका कारण आपूर्तिजन्यलगायत अन्य समस्याले विश्वभर महँगी बढिरहेका बेला नेपालमा त्यसको असर बढी पर्ने देखिन्छ । अझ चाडबाडको मुखैमा आन्तरिक बजारमा मूल्यवृद्धि हुँदा बढी असर परेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति साउनमा नै ८.२६ प्रतिशत पुगिसकेको थियो भने भदौ तथा अझ असोजमा मुद्रास्फीति १० प्रतिशतको हाराहारी पुगेको अनुमान गर्न सकिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको छ । यसरी अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसरी लगातार अमेरिकी डलरको भाउ बढ्दै जाँदा १ सय ३५ पुग्न सक्ने आकलनका बीच महँगीको पारो अझ माथि उक्लने पक्का छ । यसरी डलरको भाउमा हुने उतारचढावको सीधा नकारात्मक असर नेपाली अर्थतन्त्रमा पर्ने देखिन्छ । किनकि नेपालले गर्ने वस्तु तथा सेवा निर्यात अत्यन्तै कम भएका कारण तथा बजेटभन्दा बढी आयात गर्नुपर्ने अवस्थाका कारण डलरको भाउ बढ्नेबित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वत: बढ्छ, जसका कारण गत आवमा नै बजेटको अंकभन्दा बढी भएको व्यापारघाटा झन् उच्च हुन्छ । यसको सीधा नकारात्मक असर चालू खाता तथा शोधनान्तरमा पर्छ । यसै पनि विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको नेपालले थप दबाबको सामना गर्नुपर्छ । गत आवदेखि नै चालू खाता तथा शोधनान्तर घाटाको प्रवृत्ति नियमितजस्तै भएको छ । यसबाहेक आयातित विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुने त छँदै छ । यसका साथै, विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले तिर्नुपर्ने शुल्क पनि विदेशी मुद्रामा नै तिर्नुपर्न हुनाले डलरको भाउ बढ्नेबित्तिकै नेपालीमाथि थप आर्थिक भार बढ्छ । साथै, डलर महँगो भएका कारण नेपालले विदेशी मुद्रामा लिएको ऋणको सावाँ र ब्याज तिर्न बजेटमा छुट्ट्याएको रकम अपुग हुन्छ । यति हुँदाहुँदै पनि नेपालको अर्थतन्त्र निर्यातमुखी भएको भए डलरको भाउ बढ्दा नेपाललाई फाइदा हुने थियो ।
त्यसैले डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा बढी घाटा छ । तर पनि फाइदा नै नभएको चाहिँ होइन । नेपाली वस्तु तथा सेवा निर्यातमा सस्तो नेपाली रुपैयाँले फाइदा गर्छ । हुन त नेपाली वस्तु तथा सेवा निर्यात एकदमै कमजोर छ । जसका कारण फाइदा पनि कमै हुन्छ । तर, पछिल्ला महिनाहरूमा पर्यटक आगमनमा वृद्धि भएका कारण पर्यटनमार्फत हुने आय भने बढ्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई नेपाल घुम्न थप सहज हुन्छ । त्यसबाहेक पनि नेपालमा लगानी गर्न खोज्ने विदेशी लगानीकर्ताका लागि पनि कमजोर नेपाली रुपैयाँले केही प्रोत्साहन हुन्छ । अझ सबैभन्दा मुख्यत: नेपालको अर्थतन्त्र चलायमान बनाउने रेमिट्यान्सको आयमा डलर महँगो हुँदा नेपाललाई फाइदा हुन्छ । नेपाली युवाले विदेशमा काम गरेर कमाएर पठाउने विदेशी मुद्रा नेपालमा आउँदा डलरको भाउ बढेका कारण नेपाललाई फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्