Logo

‘भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नै भएन’

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन् ।
बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धिलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन् । मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरू राखेर बृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन् । उनले अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन् । मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास भ्रममार्फत भइरहेको बताइन् ।
उनले सरकार, राजनीतिक दलहरूले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासका लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको बताइन् । उनले विकास विज्ञसहित नेपालको नक्शा राखेर पूर्व पश्चिम दु्रतमार्ग, रेलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्ने कुराको हेक्का राखेर गुरु योजना बनाउनुपर्ने बताइन् । मन्त्री भुसालले त्यस्ता गुरु योजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा बृहत छलफल गर्नु आवश्यक रहेको पनि बताइन् ।
मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐनअनुसार ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन् । मन्त्री भुसालले त्यस्तो काम नेपाली इन्जिनियरहरूले गर्न सक्नुपर्ने बताइन् । उनले विभिन्न सरकारी निकायमा वा सरकारी निकायभन्दा बाहिर रहेका इन्जिनियरले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासो गरिन् । उनले संघीयता लागू भएसँगै धेरै इन्जिनियर प्रदेशमा गएको र ऊर्जा मन्त्रालयका विभिन्न विभागमा रहेकाले राम्रो काम नगरेको बताइन् । मन्त्री भुसालले कुनै डिजाइन, गर्नुपर्दा कन्सल्टटेन्ट, कन्स्ट्रक्सन गर्न कन्ट्याक्टर, अनुगमन र निर्माण सम्पन्नताको प्रमाण दिने कन्सल्टटेन्टलाई दिनुपर्ने चित्त नबुझेको बताइन् । उनले धेरै खर्च गरेर अध्ययन गरेर इन्जिनियर बने पनि आफैँले डिजाइन, योजना नबनाउने अवस्था रहेको बताइन् । मन्त्री भुसालले धेरै रकम खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङ सम्बन्धी ज्ञानको प्रयोग नभएको बताइन् ।
मन्त्री भुसालले इन्जिनियरिङ स्टाप कलेज तत्काल स्थापना गर्नुपर्ने बताइन् । उनले देश विकासको मुख्य जनशक्ति इन्जिनियर भएको दाबी गरिन् । मन्त्री भुसालले भौतिक विकास गर्दै आर्थिक सामाजिक विकाससँग जोड्ने विषय इन्जिनियर बिना सम्भव नभएको बताइन् । उनले देशको भौतिक तथा आर्थिक विकासलाई एकीकृत गर्नका लागि प्राविधिक विषयको विभिन्न महत्वपूर्ण विधामा काम गर्ने संस्थाबीचको सहकार्यले महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्