‘गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप’ «

‘गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गरे । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताए । उनले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गरे । उनले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरे ।
मन्त्री थापाले प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाई आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे । वि.सं २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए । उनले प्रदेश सभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष नौ लाख तीन हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताए । थापाले सार्वजनिक गरेको विवरणअनुसार वि.सं २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको भएको मन्त्री थापाले बताए ।
मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्