बंगुरपालनबाटै वार्षिक ६ लाख आम्दानी

प्युठानको सरुमारानी–४ का कृषक योगेश सारुमगर बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छन् । ६ वर्षअघि बंगुरपालन शुरु गरेका उनले यही व्यवसायबाटै वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएको बताए । “मासिक ५०/६० हजार आम्दानी हुँदै आएको छ,” सारुमगरले भने, “पछिल्ला वर्षमा यो व्यवसायले राम्रो प्रतिफल दिएको छ ।”
सातवटा बंगुरबाट व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले माउ र पाठापाठी गरी ६० वटा बंगुर छन् । डियुरोक, ल्यान्डरेस, पाख्रीबास जातका बंगुर फार्ममा रहेको उनले बताए । वार्षिक २ सयदेखि ३ सयसम्म बंगुरका पाठापाठी बिक्री गर्दै आएको उनले सुनाए । “मासुभन्दा पाठापाठी बिक्रीमा बढी फाइदा हुन्छ,” उनले भने, “घरमै ग्राहक पाठापाठी खोज्न आउँछन् । माग पुराउन सकिएको छैन ।” पाठापाठी ४ हजार ५ सय र मासु प्रतिकेजी २ सय ८० रुपैयामा बिक्री गर्दै आएको उनले बताए । उनका अनुसार प्युठानसँगै दाङ र रोल्पाबाट पनि पाठापाठी खरिद गर्न मानिसहरू आउने गरेका छन् ।
सारुमगरले सञ्चालन गरेको फार्म जिल्लाकै उत्कृष्ट र ठूलो हो । “जिल्लाकै ठूलो बंगुर फार्म यही भएको छ,” उनले भने, “गत वर्ष राष्ट्रियस्तरको दोस्रो पुरस्कारसमेत पाएँ ।” सातवटा बंगुर खोरबाट सुरु गरेको फार्मको पूर्वाधार अहिले २० वटा खोरमा पुगेको उनले बताए । अहिलेसम्म २३ लाख लगानी रहेको उनले जानकारी दिए ।
पाँच वर्षसम्म जागिरका लागि बिदेसिएका उनी गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचसहित गाउँ फर्किएका हुन् । “विदेशमा पनि कमाइ रामै्र थियो,” उनले भने, “अहिले घरमै बसेर कमाउँदा आनन्द आएको छ ।” व्यवसाय सञ्चालनका लागि बैंकबाट १० लाख रुपैयाँ कर्जा लिएको बताउने सारुमगरले अनुदान भने अहिलेसम्म नपाएको बताए ।