Logo

दसैंको समयानुकूल परिवर्तनलाई सहज रूपमा लिनुपर्छ

दसैं नेपालीहरूको महान् चाड हो । यो चाड नेपालीहरूले देश विदेश सबै ठाउँमा मनाउँछन् । समय परिस्थिति अनुसार चाड मान्ने शैली पनि फरक हुँदै गएको छ । २०/२५ वर्ष अगाडि दसैं मान्ने परम्परा मौलिक थियो भने अहिलेको दसैं मान्ने परम्परा समयअनुसार बदलिँदो छ । हिँजोका दिनमा दसैं कहिले आउँछ भनी पात्रो हेरेर दसैंका योजना बनाउने गरिन्थ्यो । नयाँ लुगा लगाउने, मीठो खाना खाने, आफ्ना आफन्तकोमा टीका लगाउन जाने योजना बन्थ्यो । त्यतिबेला यातायातको साधन खासै हुन्थेन । प्राय:जसो स्थानमा हिँडेर नै जानु पथ्र्यो । र, त्यतिबेलाको दसैंको रौनक नै फरक थियो विशेष रमाइलो पनि हुन्थ्यो । गाउँघरमा रोटे पीङ हुन्थ्यो । टाढा टाढाबाट घरमा टीका लगाउन आउँदा छुट्टै रमाइलो हुन्थ्यो । तर अहिले समय परिस्थितिअनुसार चाडबाडको रौनक नै परिवर्तन भएको छ । समय परिवेशअनुसार आएको परिवर्तनले दसैं मनाउने शैली, खानपिनले परकपन महसुस गर्न सकिन्छ । दसैंका यिनै समसामयिक विषयवस्तुमा शिक्षाविद्हरूसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

परिमार्जन हुनु स्वाभाविक हो
प्रा.डा. विद्यानाथ कोइराला
शिक्षाविद्
३० वर्ष अगाडि दसैं आउँछ, नयाँ लुगा लगाऊँ, मीठो खाऊँ भन्ने हुन्थ्यो । अहिले बढ्दो सहरीकरणले गर्दा दसैंको राम्रो लाउने भन्ने पनि हरायो, मीठो खाने भन्ने पनि हरायो । किनभने लुगा जतिसुकै बेला सस्तो, खान जे भन्यो त्यही पाउने भए । त्यसैले एउटा रौनक त्यो हरायो । अर्को, पहिले बजारीकरण एउटा निश्चित ठाउँमा हुन्थ्यो, त्यहाँ बजार हुन्थ्यो । जस्तो— सहर जाने, सहर गएर किनमेल गर्ने । अहिले जिल्ला सदरमुकाममा व्यापार छैन भन्छन्, सायद अहिले वडा, बस्ती हरेक ठाउँमा पसल छन् । त्यो पनि परिवर्तन हो । पहिले धेरै युवा गाउँमा थिए । त्यसले गर्दा गाउँमा नाचगान, रमाइलो आदि–इत्यादि हुन्थ्यो । अहिले त्यो परम्परालाई थाम्ने पिङ पनि थोरै ठाउँमा मात्रै देखिन्छन् । यस्ता परिवर्तन छन् । प्रकृतिको हिसाबमा भन्दाखेरि दसैंमा जाडो आउने, मधेस, पहाड, हिमाल हरेक ठाउँमा केही फरक हावापानी हुन्थ्यो, त्यो किसिमको अनुभव पनि छ मलाई । तर, अहिले आएर मौसममा पनि परिवर्तन छ । त्यसकारणले दसैंको सरल महिमा आकाश देख्दै मजा अनि शीतल–शीतल घामपानी पनि त्यस्तो खालको हुने । अब अहिले त्यो स्थितिभन्दा भिन्न भयो । खानपानमा जातीय हिसाबले निश्चित परिवारमा निश्चित तरिकाका खानपिन थिए, साथै क्षेत्रीय हिसाबले पनि फरक–फरक थियो । तर, अहिले त्यो नै खानाका परिकार भएर गयो । सहरी क्षेत्रमा यो पिज्जा, बर्गर आदि–इत्यादि खानेकुराको उत्पादन भयो । गाउँघरमा पनि निश्चितभन्दा धेरै परिकार भएकाले आफ्नो मन पर्ने, मन नपर्ने भन्ने कुरामा रोजाइ बढी हुन थाल्यो । जस्तो घरमा आज मासुभात खाने भन्ने दिन, मलाई मासुभात मन पर्दैन, मलाई चाउचाउ, मासु, चाउमिन बनाइदिनुस् भन्ने खालको वातावरण भयो । यसमा हिजो समूहले निर्णय गथ्र्यो, आज व्यक्तिविशेष निर्णय हुन थाल्यो र खानाको रंगढंगमा विशिष्टीकरण देखिए । त्यो म आफंैले पनि अनुभूति गरें ।
पढाइ लेखाइमा बालबालिकालाई गृहकार्य भनेर ३० वर्षअगाडि त्यो खालको तनाव वा भनौं कार्य हुँदैनथ्यो । बालबालिकाहरू पनि फुर्सदले काम गर्न, रमाइलो गर्न, आफ्नो पर्वको मजा लिन पाउँथे । अहिले बाबाआमाबाटै बच्चा पढाउने चलन छ । त्यसले गर्दा पनि बालबालिका साथै परिवारका सदस्यमा थोरै भए पनि जिम्मेवारी थपिदियो । पहिले गाउँमा कसरी चाडपर्व मनाउने कसरी अझै रमाइलो, उत्साह बढाउने भन्ने कुरा समूह भेला भई योजनाका कुरा राख्थे । चाहे मगरको नाच होस् या थकालीको खानपिनको तरिका, यो समयमा सबै भेला हुन्छन् भनेर आफ्नो जातजाति, समुदाय सम्पूर्ण मिलेर रमाइलो गर्ने चलन थियो । तर, अहिले त्यो स्थिति हरायो । किनभने निर्णय गर्ने तरिकामा फरकपन आयो र विस्तारै लोप हुँदै गयो । सहर भनेको विवाह, चाड सधैं आउने ठाउँ हो लाग्थ्यो, किनभने हरेक पटक राम्रो, सफा लुगा लाउने, सधैं मासु, मन परेका भोजन गर्ने । तर, अहिले त गाउँघरमा पनि त्यस्तै छ । घाँसदाउरा गर्दा पनि नयाँजत्तिकै लुगा लाउँछन् । त्यसले गर्दा राम्रो लाउन, मीठो खान चाड नै आउनुपर्छ भन्ने कुरा हरायो । धनीहरूले गाउँ छोडदै गए, सहर पस्दै गए र गाउँमा भएका सबै चालचलन विस्तारै त्याग्दै जाने र सहरीकरणलाई अपनाउन थाले । गाउँमा भएका व्यक्तिले पनि सहर नै मन पराउने रंगढंग देखियो । विकृति पनि छन् । एउटा त मलाई लाग्छ, रक्सी–बियर आदि–इत्यादिको असर धेरै परेको देख्छु म । युवाहरू नै कतै भेट भयो, जम्मा भए पनि ल रक्सी फोर्नुपर्छ भनेर बियर, रक्सी पनि दिउँसै खाइरहेको देखिन्छ । अरू त्यति बिक्री नहोला, लाउने लुगामा, खाने वस्तुमा परिवर्तन हुन्छन् । त्यसलाई विकृतिको नाम दिन मलाई गाह्रो लाग्छ । किनभने समयसँगै मान्छेका इच्छा बदलिनु स्वाभाविक हो । लाएका लुगा, कपालका डिजाइन सबै परिवर्तन हुनुपर्छ, तर खर्च पनि बढेको छ । आम्दानी हुने र नहुनेको बीचमा जुन फरक त हुने नै भए, तर अलिकति बढी खर्चिलोपन बढेको, देखासिकी गर्ने, नक्कल गर्ने कुरा बढेको छ ।
संस्कृति भनेको खेल हुन्छ । यसलाई दुई पक्षबाट हेर्नुपर्दो रहेछ, संस्कृतिको परिभाषाले चलायमान भन्दो रहेछ र फरक हुनु हुँदैन भनेर एउटा परम्परागत हुँदो रहेछ । जस्तै म चाबहिलमा बस्छु, यहाँ फरक–फरक जातीय व्यक्ति बसोबास गर्छन्, राई, लिम्बू, बाहुन, छेत्री । र, जुन लक्ष्मीपूजाको दिन बनाउने रङ्गोलीमा म फरकपना देख्छु । किन देख्छु ? किनभने एउटै संस्कृति होइन रहेछ । गुरुङले गुरुङको संस्कृति ल्याए, राईले राईको संस्कृति ल्याए । मगरले मगरको संस्कृति ल्याए । मैले मेरो संस्कृति ल्याएँ । ती सबै संस्कृतिको मिश्रण भएर सबैको बन्छ । तर, संस्कृतिमा गतिशीलता भयो भने यसले ठीक पार्छ, तर संस्कृति भनेको जस्तो थियो त्यस्तै हुनुपर्छ भन्ने हो भने त्योचाहिँ बेठीक भएको छ भन्ने सोच राख्छु तर मचाहिँ, समयको अन्तरालमा फरक हुनु भनेको स्वाभाविक हो । त्यसलाई असहज मान्नु हँुदैन भन्ठान्छु म, किन मेरो त्यस्तो भनाइ भन्दा हिजो ३० वर्षअगाडि झिलीमिली बत्ती बाल्ने भनेको कमै घर, एउटा–दुइटा घरमा मात्र देखिन्थे । महँगो पनि थियो । अहिले सबैले गरिरहेका छन् भने यो हाम्रो संस्कृतिमा छैन, केराको सुत्लोमा बत्ती बाल्नुपर्छ, हिजो थियोे त्यो आज छैन । त्यो हँुदैन पनि, किन हुँदैन भने कहाँ हुन्छ, त्यो कहाँ खोज्न जाने ? मान्छेसँग जे छ त्यसलाई उपभोग गर्छ नि त ! त्यसैले हिजो अर्कै थियो, समयकालमा सबै कुरा बदलिँदो रहेछ । त्यो भनेको स्वाभाविक हो । बत्ती त फरक आउला, तर मुख्य कुरा झिलीमिली बत्ती बाल्ने, घर उज्यालो बनाउने हो । त्यसैले बत्ती बालिन्छ । राम्रा लुगा लाउने हो, लाइन्छ । मीठो खाने हो, त्यो पनि खाइन्छ । भेटघाट हुने हो, त्यो पनि गरिन्छ । तर हिजोको भेटघाट र आजको भोटघाट कस्तो हो भने हिजो कोही आफन्त आए भने लामो समयसम्म भेटघाट गरेर बस्ने चल्न थियो । किनभने हिजो कृषिको दुनियाँ थियो । कृषिको दुनियाँमा के मजा हुने रहेछ भने आफू निर्णायक हुने रहेछ, व्यक्ति हुँदो रहेछ तर अहिले नोकरीको दुनियाँ भयो । अब अर्काले जे भन्छ त्यही गर्नुपर्‍यो, अनि कामले नै मान्छेलाई भिन्न बनायो । त्यसैले अहिले आउँदा मलाई पाँच मिनेट फुर्सद छ, मलाई पाँच मिनेटमा सक्नुस् त भन्ने भए । त्यस्तो भन्नु उसको गल्ती होइन, उसले काम गरेको हो, किनभने समय त्यस्तै छ । तर, एउटा कुराको निरन्तरता भेट्नुपर्छ भन्ने कुरा पनि त छ । दिनभरि बस्ने कृषिमा थियो तर अहिले निर्णायक आफू छैनन्, परिचित भइसके । त्यसैले यो हुनु स्वाभाविक हो । मेरो गाउँमा निधारभरि टीका लाउँथे, अहिले सानो टुपुक्क लगाउँछन् । राम्रो पनि, चामलको बचत पनि, सबै कुरालाई स्वीकार गर्दै जाने हो र परिवर्तन हुनुपर्छ तर मूल कुरामा परिवर्तन भएको छैन । मूल कुरा के हो भने टीका लाउने कुरामा परिवर्तन भएको छैन । आफन्तसँग भेट गर्ने कुरामा परिवर्तन भएको छैन । मिष्ठान्न भोजनालय, जमघटका कुरामा परिवर्तन भएको छैन । यो कुरामा म भने निरन्तरता नै भन्ने सोच राख्छु ।

गच्छेअनुसार खर्च गरेर चाड मनाउनु पर्छ
प्रा. डा. माधव भट्टराई
शिक्षाविद्
समयले परिवर्तन ल्याएको छ । पहिले मानिसहरू चण्डीपूजा गर्थे, पूजाका विधि अपनाउँथे । अहिले पूजा कम बाहिरी कुरा देखावटी बढी भएको छ । अर्थात् अन्तरमुखि प्रविधि अब अहिले एक प्रकारले फेसन बढेको छ । संख्या बढेको छ जनसंख्या पनि वृद्धि भयो मानिसहरू मन्दिर पनि धेरै जान्छन् । तर त्यसको गुणात्मक पक्ष धेरै छन् यसको गहकिलो पक्ष भित्री पक्ष साधनाको पक्ष फितलो भयो । पहिला विदेशमा थिएन अहिले विदेशमा पनि दसंै मनाइन्छ पैले विदेश भन्ने कुरा थिएन स्वदेशमा मात्रै हो । त्यतिबेला राम्रो लाउने चाह मिठो खाने भन्ने उत्साह विशेषगरी युवा किशोर किशोरी बालबालिकामा जुन किसिमको खुशीयाली हुन्थ्यो त्यो पनि पहिलाको जस्तो नभएर अलि फिका भएको छ । त्यही पनि दसंै फैलिएको छ त्यसकारणले हामीले चित्त बुझाउनु परेको छ अरु उपाए केही छैन । यसमा अहिले विकृति कस्तो छ भने प्रतिस्पर्धा पहिले चोखो खाने हविष्य भोजन गर्ने थियो । जेपायो त्यही नखाने भन्ने थियो । तर अहिले कतिपय ठाउँमा हामीले नसा सेवन गरेको पनि देखेका छौं । पहिला फाट्टफुट्ट खान्थे मानिसहरू गाउँतिर घरेलु अहिले विदेशबाट आयात गरेका महँगा पेय पदार्थहरू बढी मात्रामा खाने गर्दथे । तर अहिले एक अर्काको ख्याल नगर्ने छुट्टाछुट्टै रहन मन पराउने प्रविधि बढ्यो । त्यसकारणले विकृति पनि बढेकै छ । घटेको चाहिँ छैन । अब पहिला जुनकिसिमले आफ्नै घरबारीमा उत्पादन भएका चिजहरू उत्पादन गर्थे त्यो पाइँदैन पहिला सयपत्री बारीभरि हुन्थे अहिले त पसल पसलमा प्लाल्स्टिक र कागजका फूलहरू, प्लल्स्टिकका फूल माला जताततै छन् । त्यतिबेला अलि अगाडिदेखि फूल रोपेर टिपेर सयपत्री फूलहरू आफ्नै बारि बगैंचामा फुलेका फूलले पूजा हुन्थ्यो । पहिले उपत्यका क्षेत्र तथा सहरी क्षेत्रमा पनि गाई पाल्ने चलन थियो । पूजा गर्ने ठाउँ लिप्ने शुद्धसँंग घर राम्रो राख्ने अहिले त गोबर प्रयोग गर्ने केही छैन ।
गाईको गोबरले अनेक किसिमका किटाणु, सरुवा रोग कोरोनादेखि सबै किसिमका रोग कम हुन्छ । अहिले नक्कली सामान ल्याउने क्रम बढ्दो छ । अनेक विषालु चिज नेपालमा भित्रिँदैनथ्यो । यसले नराम्रो असर गरिराखेको छ । अब अहिले मैले अनुभव गरेको कुरा परदेशी देश आउने पहिलाजस्तो रौनक नभए पनि आफैले बनाएका पिङ त छैनन् । त्यो आनन्द छैन तर पनि आउने क्रम छ । मनाउने बाँकी सबै मूल कुरा छुटेको छैन । सामाजिक दृष्टिकोणले हेर्दा खेरि दसैं फैलिएको छ । तर यसको शक्ति साधना कमजोर भएर गइरहेको छ । त्यहि पनि रमाइलो छ । नयाँ लुगा लाउन मिठो खान दसंै कुर्न पर्दैन । केही राम्रा केही नराम्रा पक्ष पनि छन् । यो पक्कै पनि हाम्रो पर्व हो । हामीले विकृति आउन नदिइकन स्वाभाविक ढंगले आफ्नो गच्छेअनुसार आफ्नो खर्च गर्नसक्ने किसिमले चाड मनाउनु पर्छ ऋण बोक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्