Logo

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

यस वर्षको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकमका विजय पराजुली र टक्सार म्यागजिनका अनुप आचार्य पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को १ लाख रुपैयाँ धनराशीको आर्थिक सहयोगमा स्थापित उक्त पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को असोज १२ गते सम्पन्न १४ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले पुरस्कृत पत्रकारहरुलाई कदरपत्र तथा चेक हस्तान्तरण गरे । उक्त पुरस्कारको राशी ५०–५० हजार रुपैयाँको रहेको छ ।
सोही अवसरमा नाफिजको वार्षिक जर्नल समेत बिमोचन भएको छ । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ । जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेसा आफैंमा चुनौतीपूर्ण र संवेदनशील रहेको बताउँदै भन्नुभयो, ‘धेरैले मिडियासम्बन्धी विषय पढेर आएका हुन्छन्, पेसामा आएपछि थप विषयमा जानकारी लिनुपर्ने देखिन्छ’ उनले भने, ‘त्यो विषय पनि सबैले बुझ्ने गरी सम्प्रेषण गर्नु आफैंमा चुनौंतीपूर्ण देखिन्छ ।’
नाफिजले पत्रकारहरुलाई अन्य विषय सिकाउने माध्यम बनेको त्यो आफैंमा राम्रो काम रहेको उहाँको भनाई छ । त्यस्तै, नाफिजले सार्जजनिक गरेको जर्नलको मूलभाव आत्मनिर्भर अर्थतन्त्र रहेको र आत्मनिर्भर अर्थतन्त्रका लागि गर्न बाँकी धेरै रहेको उनले बताए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तीको कुरा हुनुपर्ने र सोही अनुसारको मुद्दा उठ्नुपर्ने बताए । उनले नेपालमा धेरै खालका क्रान्तीहरु भैसकेको भन्दै अब आर्थिक क्रान्ति हुनुपर्ने र त्यसको दायित्व मिडियाकोसमेत रहेको बताए ।
‘अर्थतन्त्र अहिले कस्तो अवस्थामा छ, आगामी दिनमा के हुनपर्छ, भन्ने विषयलाई अघि बढाउन पनि मिडियाको ठूलो भूमिका रहन्छ । स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने ठूलो आवश्यकता छ’ उनले भने, ‘अहिले सिबिफिनको सहयोगमा नाफिजले वितरण गरेको पुरस्कार पनि पत्रकारलाई हौसला प्रदान गर्दै अर्थतन्त्रका समग्र पक्षहरुको विषयमा सत्यतथ्य सूचना तथा जानकारीहरुको उजागर गर्दै आर्थिक सुधारका लागि सम्बन्धित निकायहरुलाई निरन्तर खबरदारी गर्न थप जिम्मेवार बनाउनु पनि हो ।’
सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्‍याउने हेतुले उक्त पुरस्कार प्रदान गर्न थालिएको र पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्ने जनाइएको छ ।
त्यसैगरी सोही अवसरमा ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठसमेत पुरष्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्