विराट एक्स्पो २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा

उद्योग संगठन मोरङले २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ । सो प्रदर्शनी महानगरपालिकाको वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा गर्न लागिएको हो ।
यस पटक बिराट एक्स्पोको सातौं संस्करण आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीकारुपमा आयोजना गर्न लागिएको छ । यसअघि २६ माघघेखि ३ फागुन २०७९ मा आयोजना गर्ने तय भएपनि अन्तिम समयमा सो प्रदर्शन रद्द भएको थियो । स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायीक विकासमा योगदान पुर्याउन संगठनले २०५३ सालदेखि प्रदर्शनी सञ्चालन गर्दै आएको जनाएको छ ।
एक्स्पोको सातौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीहरु मध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको आयोजकको दावी छ ।
कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायत समग्र प्रदेश–१ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधिभित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकलाई आफ्नो उत्पादन तथा सेवाको बिक्री बितरण तथा प्रचार प्रसारका लागि साझा मञ्च उपलब्ध गराई बजार प्रवद्र्धन गर्नु एक्स्पोका उद्देश्य रहेको एक्सपोका संयोजक भोलश्वर दुलालले जानकारी दिए ।
प्रदर्शनीका माध्यमबाट उत्पादक र उपभोक्ताबीच अनुभव आदान प्रदान, व्यावसायीक विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग, कृषि उत्पादनको व्यावसायीकरण र पर्यटकीय क्षेत्रको एवं नया गन्तव्यको प्रचार प्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन, नवप्रवद्र्धक स्टार्टअपहरुको व्यवसायीक विकासमा सहयोग पुयाउने रहेको बताइएको छ ।
प्रर्दशनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिल मेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तब्यको जानकारी दिेन बताइएको छ ।
प्रदर्शनीमा ४१५ वटा स्टलहरु रहने छन् भने कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमुलक औद्योगिक उत्पादन र उत्पादनको प्रकृया, व्यवसायिक विकास सेवाहरु, आपूर्ति श्रङ्खलाका कर्ताहरु, नविनत सोच एवं प्रविधिमा आधारित उद्योगहरु, अन्तर्राष्ट्रिय एवं सेवामुलक, अटोमोवाइल्स, खाद्य परिकार, सूचना एवं शिक्षामुलक लगायतका क्षेत्रबाट प्रदर्शनीमा सहभागिता रहनेछ ।
भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड, चीनलगायतका मुलुकबाट समेत कन्जुमर तथा करपोरेट स्टलहरु रहने गरी तयारी अघि बढाइएको बताइएको छ । प्रदर्शनी आयोजनाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने र उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्री, टिकट बिक्रि तथा संघ, प्रदेश र स्थानीय सरकार र अन्य विकास साझेदारसँगको सहकार्यबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।