Logo

नियमित उडान नगर्ने विमानलाई जुम्लामा रोक लगाइने

नियमित उडान नगर्ने कुनै पनि एयरलाइन्सलाई आगामी दिनमा जुम्लामा रोक लगाइने भएको छ ।
अघिपछि नियमित उडान हुने र दसैं तिहारका बेला कर्णाली बासीलाई सास्ती दिने निजी एयरलाइन्सलाई जुम्लामा रोक लगाइने भएको हो । मंसिरदेखि भदौसम्म नियमित उडान गर्ने तर असोज र कात्तिकमा दसैं तिहारका बेला कर्णालीका नागरिकलाई बेवास्ता गरी अन्यत्र मात्र सेवा दिने निजी एयरलाइन्सलाई जुम्लामा पूर्णरुपमा रोक लगाइने भएको छ ।
जुम्लामा बिहीबार बसेको सर्वदलिय बैठकले जुम्लासहित कर्णालीका दुर्गम जिल्लामा वर्षेनि दसैं तिहारका बेला नियमित उडान गर्नका लागि ठोस नीति बनाउन लागि सांस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । कारोबार आर्थिक् राष्ट्रिय दैनिकमा हवाई सेवा अनियमित भएको समाचार आएपछि ध्यानकर्षण भएको उनको भनाइ छ ।
यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले निजी एयरलाइन्सहरुले वर्षौदेखि कर्णाली बासीलाई हेप्दै आएकोले अघिपछि फालाफाल उडान गर्ने दसैं तिहारमा हारगुहार गर्दा पनि उडान नगर्ने एयरलाइन्सलाई जुम्लामा रोक लगाउनु पर्ने बताए । उनले भने, “मन्त्रालयलाई नियमित उडानको पहल गर्न अनुरोध गरेका छौ । केहि दिनमा उडान नभए । तारा एयरलगायतका एयरलाइन्सको कार्यालयमा तालाबन्दी गर्नुपर्छ ।”
कर्णाली राजगर्मा हिउँद वर्खा कहिले पनि सुरक्षित नहुने भएकोले हवाई मार्गको विकल्प छैन । तर जुम्लासहित कर्णालीमा निजी एयरलाइन्सको मनपरीले नागरिकहरु सास्ती पाउँदै आएका छन् । जुम्लामा नियमित उडानका लागि नीतिगत पहल गर्ने, त्यसपछि पनि नियमित उडान नगर्ने एयरलाइन्सलाई जुम्लामा रोक लगाउने र केन्द्रमा रहेका सबै दलका नेतालाई डेलिगेसन पठाउने सर्वदलिय बैठकले निष्कर्ष निकालेको छ ।
यता जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले कर्णालीमा यतिबेला पूर्वतिर पर्यटकको सिजन भएकोले निजी एयरलाइन्स कमाउन जाँदा कर्णालीमा समस्या भएको बताए । उनले भने, “हाम्रो तहबाट नियमित उडान गराउन सम्भव छैन । विमानस्थल बढी जहाज कम छन् । माथिल्लो तहबाटै ठोस निर्णय नभई कर्णालीमा हवाई सेवा नियमित हुन्न । यसका लागि सबै दलहरु एकजुट भएर पहल गर्नुको विकल्प छैन ।”
भदौ महिनामा मात्र जुम्लामा ४८ उडान गरेका निजी एयरलाइन्सहरुले असोज लागेसँगै फाटफुट उडान मात्रै गरेका छन् । जसका कारण दसैं तिहारका लागि घर आउने र जाने कर्णालीका नागरिक अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्