अवसर नपाए अन्य पार्टीमा हामफाल्ने प्रवृत्ति घातक: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अवसर नपाउँदा अन्यत्र हाम फाल्ने प्रवृत्ति मौलाएको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने, “आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने। पटक–पटक पाए ठीक । अरूले एकचोटि पाउँदा सकारात्मक नलिने रोग समाजमा रोग छ ।” उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको स्वीकारे । “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फाल्ने प्रवृत्ति देखिएको छ । यी सबै चीजबाट होसियार हुनुपर्छ,” नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने । सबै खाले भेदभाव, अन्याय, अत्याचार, हिंसा र अपमान अन्त्य गर्न नेपालमा समाजवाद स्थापना गर्नु आफ्नो सपना रहेको उनले सुनाए ।
नेता नेपालले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सकारात्मक सोच राखेर समाज र देशलाई राम्रो दिशामा लैजान सकिने बताए । “अहिले पनि समाज र राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति छ । नेताहरूले विश्वास गुमाउँदै गएका छन् । हामी अरूजस्ता होइनौं भन्ने देखाउन सक्नुपर्छ,” उनले भने ।