सामसङको प्राथमिकतामा फोल्डेबल स्मार्टफोन

काठमाडौं । सामसङले सन् २०१८ मा प्रविधि क्षेत्रमा आफ्नो अस्तित्वलाई बलियो पार्न मोडिने स्मार्टफोन (फोल्डेबल स्मार्टफोन)लाई प्राथमिकताा राख्ने भएको छ । कम्पनीको ब्राण्ड भ्यालुसँगै बजार हिस्सासमेत बढाउन यसलाई तुरुपको एक्काको रुपमा प्रयोग गर्ने विश्लेषण अन्तर्राष्ट्रिय टेक साइटहरुमा आउन थालेका छन् । सामसङले जारी गरेको विज्ञप्तिअनुसार सामसङलाई फोल्डेबल स्मार्टफोनले सन् २०१८ मा वृद्धि आम्दानीमा भारी वृद्धि गराउन सक्नेछ । सामसङले मोबाइल फोनको व्यवसायमा फरक खालको विधि अपनाउने रणनीतिलाई निरन्तरता दिने जनाउँदै यस्तो बताएको हो । फोल्डेबल ओएलइडी डिस्प्लेले महत्वपूर्ण भूमिका खेलेको उसको बुझाइ छ । सामसङले यस्तो अवधारणालाई सन् २०१३ को सीइएसका क्रममा सार्वजनिक गरेको थियो ।
कम्पनीले फोनलाई टयाब्लेटमा मोडने गरी ल्याउने सो अवधारणालाई साकार पार्न लागेको बुझिएको छ । पाँच वर्ष बितिसके पनि सो अवधारणा अनुरूपका स्मार्टफोन बजारमा ल्याउन सकेको छैन । यस्तो स्मार्टफोन सामसङले ल्याउन लागेको खबर सन् २०१७ मा कोरिया हेराल्डले सार्वजनिक गरेको थियो । यो वर्ष फोल्डेबल फोन आउँछ भने यसले ग्यालेक्सी नोट ९ को भर्सनमा हुनेछ । गतवर्ष कम्पनीले फोल्डेबल स्मार्टफोन सन् २०१८ मा ल्याउने जनाएको थियो ।