Logo

कांग्रेसभित्र राजा जन्मिएको शेखर समूहको आरोप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।
उनले भने, “गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ । अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली कांग्रेस नै हो ।”
कांग्रेस नेता खेमराज केसीले समानुपातिकतर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझैपनि सूची संशोधन गरी समान रुपमा टिकट वितरण गर्नसके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताए । उनले पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको बताए । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीबिरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए ।
नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए । उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे । उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको बिरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाए । उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए ।
नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए । उनले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए । उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए बिद्रोहको विकल्प नभएको बताए । उनले पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले बिरोध गर्नुपरेको बताए । उनले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए ।
नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए । उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले भने, “गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापन हो । सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।”
त्यस्तै कांग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गरे । उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए । उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए । नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके बिरोध थप चर्किने बताए ।
बिहीबार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्