Logo

सातको आवेदन माग्दा ३१ निवेदन

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

अन्तिम दिन बिहीबार लघुबिमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बिमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । बिमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन बिहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् । बिमा समितिले १० भदौमा ७ वटा लघुबिमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।
समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्वमा नै लघुबिमाका लागि आवेदन परेको पनि समितिले जनाएको छ । समितिका अनुसार झण्डै एक महिनासम्म पनि लघुबिमामा आवेदन नआएपछि समय थप गर्ने कि भन्ने सोच समेत बनाएको थियो । न्यून आय भएका व्यक्तिलाई पनि बिमाको दायरामा समेट्न सरकारले लघुबिमा ल्याएको हो । लघुबिमाप्रति निर्जीवन बिमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबिमाको सीमा नै तोक्दा पनि पहुँच नबढेको भन्दै नयाँ लघुबिमा कम्पनी ल्याउने बाटो खुला गरेको थियो ।
समितिको ३१ साउनमा बसेको सञ्चालक समितिको बैठकले लघु बिमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेपछि समितिले आवेदन आह्वान गरेको थियो ।
समितिको निर्देशिकाअनुसार लघुबिमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्नेछ भने चुक्ता पुँजी समितिले ७५ करोड तोकेको छ । लघुबिमामा संथापकले कम्तिमा ५१ प्रतिशत सेयर धारण गर्नुपर्ने, ३० प्रतिशत सेयर आईपीओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने तथा ५ प्रतिशत सेयर कर्मचारीलाई दिन सकिने प्रावधान छ ।
यसका साथै लगानीकर्ता संगठित संस्था भएमा सोको पुँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । तर, संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पुँजीको १५ प्रतिशत वा सोभन्दा कम सेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत सेयरधनी भएको हुनु नहुने व्यवस्था पनि निर्देशिकामा छ ।
यसैगरी, लघुबिमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बिमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात् क्रसहोल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बिमा व्यवसाय गर्दै आएका कम्पनीले जीवन लघुबिमा र निर्जीवन बिमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबिमा कम्पनीले खोल्न पाउने निर्देशिकामा उल्लेख छ ।
सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत पनि बिमाको विकास तथा विस्तार गर्नको लागि लघुबिमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । प्रस्तावित लघुबिमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर अवस्थित हुनुपर्ने निर्देशिकामा उल्लेख छ । छनोट भएका प्रस्तावमध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । लगत्तै दसंै बिदा परेका कारण अब दसैं बिदापछि समितिको सञ्चालक समितिले आवेदन उपर कारवाही गर्ने पौडेलले जनाए ।
दुर्गम, ग्रामिण तथा सहरी क्षेत्रका सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई लक्षित गरी लघुबिमा सेवाको प्रवाह गर्ने, लघुबिमा सेवाका लागि सेवाग्राहीहरूको रूपमा न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबिमाको सेवा प्रवाह गर्ने व्यवस्थालाई सुदृढ गर्ने लगायतका शर्तहरू निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्