बिमाप्रतिको विस्वास बढाउन जोड

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बिमा दावी भुक्तानी र बिमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएक छन् ।
बिमा समिति कर्मचारी युनियनले ललितपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बिमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी वृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए ।
उनले नयाँ बिमा ऐन आएपछि बिमा समिति बिमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बिमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बिमा सम्बन्धीकाम कारवाही अगाडि बढ्ने र बिमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।
अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बिमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बिमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमासंचालन गरिने जानकारी दिए ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएकोे बताए ।