आर्थिक विकासमा संरक्षणको महत्व «

आर्थिक विकासमा संरक्षणको महत्व

नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले विश्वको जम्मा ०.१ प्रतिशत भूभागमात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महŒव बढ्दै गइरहेको छ । तसर्थ, हामी र हाम्रा सन्ततिले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।
पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । बासस्थानको क्षति, अन्तर्राष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी–सिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको वढ्दो महत्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै भएको र अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुन सक्ने अधिक संकलन र व्यापारलाइ नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नु आपरिहार्य छ ।
संरक्षित क्षेत्रको स्थापनाले वन्यजन्तु, वनस्पति र प्राकृतिक वन क्षेत्रको संरक्षण भएको छ । प्राकृतिक सम्पदाहरू भविष्यका सन्ततिहरूको नासोको रूपमा संरक्षण गरी बचाइराख्नुपर्छ । यिनलाई प्राकृतिक रूपमा बचाइराख्नु सभ्य समाजको पहिचान र तपाईं–हामी सबैको जिम्मेवारी पनि हो । संरक्षणबाट संरक्षित क्षेत्रको आवश्यकीय व्यवस्थापन भई भावी पुर्खालाई प्राकृतिक स्रोतको जस्ताको तस्तै हस्तान्तरण गर्न मद्दत पुग्छ । सो हस्तान्तरणबाट प्राकृतिक सन्तुलन हुन्छ । सो सन्तुलनबाट वन्यजन्तु, पन्छी, प्राकृतिक सन्तुलन कायम गर्न महŒवपूर्ण भूमिका खेल्छ । प्राकृतिक सन्तुलन कायम हुन नसकेमा मानिस स्वयंकै उन्नति तथा प्रगतिमा प्रतिकूल असर पर्न जन्छ । जलवायु परिवर्तन न्यूनीकरण गर्न र प्राकृतिक प्रकोप रोक्नका लागि पनि संरक्षित क्षेत्रको अहम् भूमिका रहन्छ । संरक्षित क्षेत्रबाट मनोरञ्जन पनि प्राप्त हुन्छ । सो क्षेत्रको भ्रमणले स्वदेशी एवं विदेशी पर्यटकलाई अपूर्व ताजगी प्रदान गर्न मद्दत गर्छ । पर्यटकको मनोरञ्जनका लागि मनमोहक वातावरण उपलब्ध हुन्छ । दृश्यावलोकनका निम्ति संरक्षित क्षेत्र विभिन्न अध्ययन–अनुसन्धानका लागि लाभदायक हुन्छन् । संरक्षित क्षेत्रमा वन्यजन्तु, वनस्पति र प्राकृतिक वन क्षेत्र, हावापानी र भू–बनोट, सुरक्षित रहने हुँदा वैज्ञानिक अध्ययन साथै नयाँ आयामहरू उपलब्ध हुने मौका प्राप्त हुन्छ । मानव जाति तथा जीवित प्राणीको कल्याणमा सहयोग पु्र्‍याउने गतिविधिका लागि निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रको ठूलो योगदान रहन्छ । संरक्षित क्षेत्रबाट देशको कारोबार पनि बढ्छ । संरक्षित क्षेत्रमा आउने पर्यटकसँग लिइने शुल्क तथा अन्य शीर्षकबाट उठाएको रकमबाट राजस्व वृद्धि हुन्छ । यस्तो कार्यबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले हुँदै आएका विभिन्न गतिविधि पर्यटन, विकास, निर्माण आदि कार्यबाट स्थानीय स्तरमा रोजगारीका अवसरहरू प्राप्त भई स्थानीयहरूले रोजगारी पाउँछन् । संरक्षित क्षेत्रले मानव जीविकोपार्जनमा सुधार ल्याउँछ । निकुञ्ज र आरक्षको मध्यवर्ती क्षेत्र एवं संरक्षण क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरू परिचालनबाट उनीहरूको जीविकोपार्जनमा सुधार भई आर्थिक समुन्नतिका लागि मद्दत पुर्‍याउँछ ।
दिगो विकास र वातावरण संरक्षण कार्यमा संरक्षित क्षेत्रको अहम् भूमिकाबारे माथि नै उल्लेख भइसक्यो । वन्यजन्तु तथा वनस्पति संरक्षण हुनु नै वनजंगल संरक्षण पनि हो । यो संरक्षणबाट प्राप्त हुने अपार वातावरणीय सेवाहरूले सबैलाई फाइदा गर्छ । यो क्षेत्रबाट कृषि भूमिको उत्पादकत्वमा वृद्धि, कृषि भूमिलाई आवश्यक मलजलको उपलब्धता, संरक्षण कार्यबाट बाढीपहिरोको रोकथाम, जलधार क्षेत्रको संरक्षण भई जनताको आर्थिक विकासमा टेवा पुर्‍याउँछ । राष्ट्रिय निकुञ्ज तथा आरक्षमा आम्दानी हुने राजस्वको ३०–५० प्रतिशत रकमबाट स्थानीय जनतालाई प्रत्यक्ष फाइदा पुग्ने हुन्छ । प्रत्यक्ष आर्थिक आर्जन भई विभिन्न सेवा सञ्चालन जस्तै— होटल, लज सञ्चालनबाट बर्सेनि ठूलो धनराशि आम्दानी हुन्छ । सोबाट देशको कुल गार्हस्थ्य उत्पादनमा समेत योगदान पुग्छ । नेपालमा आउने पर्यटकहरूको ६० प्रतिशतले संरक्षित क्षेत्रको अवलोकन भ्रमण गर्छन् । त्यसकारण संरक्षित क्षेत्र हाम्रो राष्ट्रका लागि अमूल्य सम्पत्ति हो ।
अनादि कालदेखि नै मानिस, वन्यजन्तु तथा वनस्पतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ । वन्यजन्तु तथा वनस्पतिको संरक्षणप्रति चासो देखाउनु मानव जातिको समुन्नतिप्रति चासो देखाउनु हो । मानिस, वन्यजन्तु तथा वनस्पतिहरू सबैको जीवनचक्रमा खलबल पर्नासाथ अरूहरूको जीवनचक्रमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा खलल पर्न थाल्छ । उदाहरणका लागि कुन बिरुवा अथवा वन्यजन्तुको प्रजाति लोप भयो भने तिनीहरूको श्रृङ्खलामा विनाशकारी प्रभाव पर्न जान्छ । यसबाट मानिसको अस्तित्व समेत खतरामा पर्न सक्छ । वन्यजन्तु तथा वनस्पति महŒवपूर्ण प्राकृतिक स्रोत हुन् । अत: ती नभई हाम्रो जीवनचक्र चल्न सक्दैन । वातावरणलाई सन्तुलित राख्न वन्यजन्तु तथा वनस्पतिले ठूलो भूमिका खेल्छन् । हामी सबैले वनस्पति एवं वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिई मानव र वन्यजन्तुको द्वन्द्वलाई व्यवस्थापन गर्नु पनि आजको आवश्यकता हो । वातावरणमा ह्रास आएमा सर्वप्रथम मानिस नै प्रभावित हुन्छ । त्यसकारण संरक्षित क्षेत्र जोगाउन जनसहभागिताले अहम् भूमिका खेलेको छ । यी क्षेत्रहरू विभिन्न मुलुकका पर्यटकहरूका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा रही अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने प्रमुख निधिको रूपमा रहेको छ । स्मरण रहोस्, २०६३ असोज ७ गते वन्यजन्तु तथा वनस्पति निरीक्षण तथा संरक्षणको क्रममा स्वदेशी तथा विदेशी संरक्षणविद्सहित २४ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । सो दु:खदायी घटनाको स्मरणमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्