रूसमाथिको आर्थिक नाकाबन्दीको सफलता «

रूसमाथिको आर्थिक नाकाबन्दीको सफलता

रूसले जुन हिसाबले युक्रेनमाथि आक्रमण गर्‍यो, उसले युद्ध अहिलेसम्म लम्बिन्छ भन्ने अनुमान गरेको थिएन र पश्चिमा देशहरूको समर्थनमा युक्रेनले यति बेलासम्म थेगिरहेको छ । अझै पनि यो युद्ध छिट्टै समाप्त हुन्छ भन्ने कुरामा अँध्यारो सुरुङमा बत्ती बलेको देखिँदैन । यही क्रममा अमेरिका, बेलायत, युरोपियन युनियन र अस्ट्रेलिया, जापानजस्ता देशहरूले लगाएको विभिन्न चरणका आर्थिक नाकाबन्दीका कारण रूसी अर्थव्यवस्थाका साथै युक्रेनका अर्थव्यवस्थाहरू ठप्प भएपछि विश्व अर्थव्यवस्थाको प्रतिकूल प्रभाव बढ्ने क्रम जारी छ । यो नाकाबन्दीअन्तर्गत रूसको निर्यातलाई रोक्ने, रूसको बैंकिङ प्रणालीलाई प्रतिबन्ध लगाउने र रूसलाई दिँदै आएको सौविध्य व्यापार सुविधालाई खारेज गर्ने व्यवस्थाहरू पर्छ । रूसको अर्थव्यवस्थालाई धाराशायी बनाई रूसलाई आत्मसमर्पण गराउनु यो नाकाबन्दीको मूल उद्देश्य हो ।
यसै क्रममा रूसलाई जी–८ बाट निकाल्ने कार्य भइसकेको छ । यो नाकाबन्दीले विश्वमा कच्चा तेल, खाद्य सामग्रीको मूल्य बढाएर धेरै देशको वित्तीय व्यवस्था धराशायी बनाएको मात्र होइन कि धेरै देशमा सार्वजनिक ऋणको मात्रा बढेर धराशायी हुने अवस्थासम्म पुगेको छ । ग्यासमा विश्वको दोसो ठूलो र कच्चा तेल उत्पादनमा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सपछिको तेस्रो ठूलो देश रूस हो । कोइला, कच्चा तेल र ग्यासमा रूसको बढ्दो प्रभावको कारणले अरू क्षेत्रमा नाकाबन्दी कामयावी भए तापनि यो क्षेत्रमा त्यति कामयावी भएको पाइँदैन । रूसलाई विश्वकै ठूलो रासायनिक मल उत्पादन गर्ने देशको रूपमा लिने गरिन्छ । बेलायतलगायत युरोपियन युनियनका देशहरूले रूसबाट आयात गर्ने तेलको मात्रा यो वर्षको अन्त्यसम्ममा शून्यमा झार्ने योजना बनाएको पाइन्छ । रूसले प्रतिदिन ८० लाख ब्यारेलबराबरको तेल उत्पादन गर्न सक्छ । अमेरिकाले रूसबाट ग्यास आयात गर्न बन्द गरिसक्यो भने बेलायतलगायत युरोपियन युनियनका देशहरूले रूसी ग्यास र तेलमाथिको निर्भरता कम गर्दै लाने योजना बनाइसकेका छन् ।
युरोप र अमेरिकाको नाकाबन्दीबाट पर्ने प्रभावलाई कम गर्न रूसले अब एसियातिरको बजार हेर्न थालेको छ । उसले युरोपको बजारलाई एसियाली बजारबाट प्रतिस्थापन गर्न खोजेको पाइन्छ । विगत केही समयदेखि भारत र चीनले रूसबाट खरिद गरेको कच्चा तेलको मात्रामा भएको वृद्धिले यो कुराको पुष्टि गर्छ । रूसले यी देशहरूलाई आफ्नो कच्चा तेल बेच्नका लागि प्र्रतिब्यारेल ३० डलरसम्मको सहुलियत दिएको देखिन्छ । युक्रेनमाथि रूसले आक्रमण गर्नुअगाडि भारतले रूसबाट आयात गर्ने कच्चा तेलको मात्रा १ प्रतिशतभन्दा कम रहेकोमा अहिले आएर यो संख्या करिब १६ प्रतिशत पुगेको छ । भारतमा कच्चा तेल सबभन्दा बढी इराकबाट आपूर्ति हुने गरेको र दोसो स्थान साउदी अरेबियाले लिइरहेकोमा अहिले आएर दोसो स्थान रूसले लिएको छ । विश्वमा कच्चा तेल आयात गर्नेमा भारत तेसो ठूलो देश मानिन्छ । यसैगरी चीनको भन्सार प्रशासनले प्रकाशित गरेको हालसालैको तथ्यांकअनुसार गत वर्षभन्दा रूसबाट चीनले आयात गरेको कच्चा तेलको मात्रा ५५ प्रतिशतले वृद्धि भएको छ र भारतले जस्तै चीनले पनि बढी तेल आपूर्ति गर्ने देश साउदी अरेबियालाई प्रतिस्थापन गरेको छ । मुद्रास्फीतिलाई कम गर्न अरू देशहरूले पनि रूसबाट कच्चा तेल आयात गर्न खोजिरहेका छन् ।
कच्चा तेलबाहेक रूसले धेरै मात्रामा चाइनिज कारहरू रूसको बजार प्रवेश गराउने भएको छ भने भारतीय सुपर माक्र्रेटका सिक्रीहरूलाई पनि रूसमा प्रयोग गर्न खोजिरहेको छ । रूस र भारतबीचको व्यापारको मात्रा यो वर्ष १२० प्रतिशतले वृद्धि भएको तथ्थ्यांकले पनि यो कुराको पुष्टि गर्छ । रूसबाट भारतमा निर्यात भएको रासायनिक मलको मात्रा पनि विगत वर्षको तुलनामा आठ गुणाले वृद्धि भएको छ । पाश्चात्य देशहरूले लगाएको नाकाबन्दीकै अंशका रूपमा अमेरिकालगायतका देशहरूले रूसको तेलको मूल्यमा नियन्त्रण गर्ने (क्याप लगाउने) प्रावधान कार्यान्वयन गर्न तयारी गरिरहेको र त्यसमा भारत र चीनले समर्थन गर्ने सम्भावना निकै कम रहेको पाइन्छ ।
नाकाबन्दीको कारणले आफ्नो बैंकिङ प्रणालीमा आएको समस्यालाई समाधान गर्न रूसले ब्र्रिक्सलाई उपयोग गरेर पश्चिमा देशहरूको नाकाबन्दीबाट आफूलाई मुक्त गर्न खोजिरहेको छ । रूसले आफ्नो बैंकिङ प्रणालीमाथि लगाएको नाकाबन्दीलाई कम गर्न अरू उपायहरूको खोजीमा रहेको पाइन्छ । भारत, चीन, ब्राजिल र दक्षिण अफ्रिकाका देशहरूसँग मिलेर वैकल्पिक उपाय अपनाएर अन्तर्राष्ट्रिय वित्तीय भुक्तानीको व्यवस्था मिलाउन खोजिरहेको छ । ब्रिक्स बैंकहरूसँग मिलेर रूसले फाइनान्सियल मेसेजिङको व्यवस्था मिलाउन खोजिरहेको छ ।
रूसको समष्टि अर्थव्यवस्था व्यवस्थापन गर्न पुटिनलाई माहिर मान्ने गरिन्छ । युरोपलाई ग्यास र कच्चा तेल बेचेर र युक्रेनमाथिको आक्रमणलाई पुटिनले रकम जुटाइरहेको मानिन्छ । क्राइमिया गाभेपछि रूसले खेपेको पश्चिमा देशहरूको नाकाबन्दीलाई व्यवस्थापन गरेर आफ्नो अर्थव्यवस्थालई मजबुत बनाएका पुटिनले युक्रेनमाथि आक्रमण गर्नुअगाडि रूसी अर्थव्यवस्थालाई सही दिशामा डोर्‍याएका थिए । तर, नाकाबन्दीले रूसको अर्थव्यवस्था ८ प्रतिशतले संकुचन हुने, मूल्यवृद्धि १८ प्र्र्रतिशत पुग्ने, वस्तु आयात नहुने भएकाले मूअक नउठ्नेजस्ता अनुमानहरू गरिएका छन् । रूसको तेल उत्पादन नाकाबन्दीको कारणले ९ प्रतिशतले र ग्यासको उत्पादन करिब साढ ७ प्रतिशतले घटने अनुमान गरिएको थियो । रूसले ग्यास र तेलको निर्यातबाट करिब २ सय ८५ अर्ब डलर कमाउने अनुमान गरिएको छ । यसमा ग्यासको निर्यातबाट मात्र १ सय अर्बभन्दा बढी अमेरिकी डलर कमाइसकेको छ । रूसलाई कमोडिटी सुपरमार्केट नै भन्ने गरिएको छ । कच्चा तेल मात्र होइन, रूसले निकल, अल्मोजियम र पयालडिनयनजस्ता वस्तुहरूको आपूर्तिमा पनि महŒवपूर्ण भूमिका खेल्छ । रूससँग भारत र चीनले अन्य कच्चा पदार्थहरू पनि कच्चा तेलजस्तै सहुलियत दरमा खरिद गर्न खोजिरहेको छ ।
तेल र ग्यासपछिको तेस्रो सबैभन्दा बढी रूसले निर्यात गर्ने वस्तु भनेको सुन हो । जी–७ का देशहरूको बीचमा जर्मनीमा भएको शिखर सम्मेलनले रूसबाट आयात गर्ने सुनमाथि पनि प्रतिबन्ध लगाउने निश्चित भइसकेको छ । रूसले जी–७ का देशहरूमा सुनको निर्यात गरेर १९ अर्बभन्दा बढी अमेरिकी डलर भिœयाउने गरेका छन् । भारत र चीनमा विगत तीन दशकमा मध्यम वर्गका मानिसहरूको संख्या जुन रूपले बढिरहेको छ त्यसले रूसले सुनको हकमा पनि यी बजारहरू नहेर्ला भन्न सकिँदैन ।
सामान्यतया आर्थिक नाकाबन्दीले काम गर्दैन भन्ने मान्यता रहेको छ । किनभने सार्वभौम राष्ट्र र निजी क्षेत्रका कम्पनीहरूले यसलाई सजिलैसँग नकार्न सक्छ । अहिलेको यो नाकाबन्दीलाई यसअघि इरानलाई परमाणु हतियार राखेबापत, उत्तर कोरियालाई परमाणु बम परीक्षण गरेबापत र भेनेजुएलालाई राजनीतिक व्यवस्थाको कारणले लगाएको नाकाबन्दीसँग तुलना गरिएको छ । पश्चिमा देशहरूले लगाएको अहिलेसम्मका नाकाबन्दीमध्ये लिबियाका तत्कालीन शासक कदाफीले आम विनाश हुने हातहतियार प्रयोगमा रोक लगाउन र आतंकवादीहरूलाई वित्तीयकरण रोक्नका लागि गरिएको नाकाबन्दी मात्र सफल भएको मानिएको छ । बेलायतलाई स्वेज नहरको मामिलामा र इटालीलाई इथियोपियामा आक्रमण गरेको बेलामा पनि यस्तै नाकाबन्दीहरू लगाइएको थियो ।
नाकाबन्दीको कारणले युरोपका अर्थव्यवस्था बढी प्रभावित भएका छन् र अमेरिकाको अर्थव्यवस्थामा रूसको तेल र ग्यासको त्यति निर्भरता नभएको कारणले अमेरिकी अर्थव्यवस्था त्यति प्रभावित भएको देखिँदैन । उदाहरणका लागि जर्मनीको कुल ग्यास आयातमा रूसको हिस्सा ५५ प्रतिशत रहेको छ र तत्काल यसलाई पुनस्र्थापन गर्न सजिलो छैन । रूसबाट आयात हुने ग्यास र कच्चा तेलको निर्भरता आधाले घटाउन युरोपियन युनियनका देशहरूले केही समयअगाडि सहमति गरेका थिए । युरोपले रूसको तेलको बजारलाई अपांग बनाउने जुन लक्ष्य राखेको थियो त्यसमा उनीहरू सफल हुने देखिँदैन । यदि जर्मनीले रूसको ग्यास र कच्चा तेल आयात बन्द गर्ने हो भने उसको अर्थव्यवस्थामा २ प्रतिशतले संकुचन आउने अनुमान गरिएको छ । बेलायती अर्थव्यवस्था पनि संकुचनतर्फ मोडेर अहिले विश्वको पाँचांै अर्थव्यवस्थाबाट छैटौंमा ओर्लेको छ । यसैगरी अरू अर्थव्यवस्थाहरू पनि संकुचनउन्मुख भएका छन् । यो नाकाबन्दीले युरोपका केही देशहरूमा एक प्रकारले इन्धन संकट नै सिर्जना गरिदिएको छ ।
यो युद्ध तत्काल अन्त्य हुने कुनै छाँटकाँट देखिँदैन र आर्थिक दृष्टिले नाकाबन्दी सफल भएको मान्न सक्ने अवस्था पनि देखिएन । केही साताअगाडि टर्की र संयुक्त राष्ट्रसंघको संयुक्त प्रयासबाट युक्रेनका बन्दरगाहहरूमा रोकिराखेको अन्न बाहिर निकाल्न सफल भएको थियो । यसले युद्ध रोकिएला कि भनी धेरैको मनमा आशाको किरण पलाएको थियो । युद्धले विश्व अर्थव्यवस्थालाई नराम्रोसँग गाँजिसकेको छ, विश्व अर्थव्यवस्था सुस्ततातर्फ उन्मुख भइसकेको छ र युद्ध रोकिएन भने यो सुस्तता अरू बढ्नेछ । त्यसकारण सामूहिक प्रयासबाट यो युद्ध रोक्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्