Logo

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा साँस्कृतिक गुरुहरूको सम्मान

४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो र यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरू क्रियाशील हुनुपर्ने बताए ।
परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरूमा महिलाहरूको उत्साहजनक सहभागिता बढ्दै गएको बताउँदै उनले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भने ।
भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाइ, शिक्षा, स्वास्थ्य, सम्पदा पुन:निर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरूले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएको छ भने ।
भक्तपुर आफैंमा एउटा खुल्ला विश्वविद्यालयको रुपमा रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरू स्वयम् समाजका सम्मानित प्राध्यापकका रूपमा रहेको बताए ।
सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुतामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउँदै उनले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरबासी स्वयम् सचेत भए भक्तपुरनगर अझ सुन्दर र व्यवस्थित हुने बताए ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरू इमानदार हुनुपर्छ भने ।
भूकम्पपछिको पुन:निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्दै उनले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको भवन पुन:निर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउँदै उनले मंसिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरूको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राखे ।
सचिव सुवालले भने, ‘भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरू एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पुर्‍याउन सांस्कृतिक गुरुहरूको योगदान कदरयोग्य भएको बताउँदै सांस्कृतिक गुरुहरू विश्वविद्यालयको प्रमाणपत्र विनाका प्राध्यापकहरू हुन् ।
उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरूको पुन:निर्माणमा भक्तपुरकै कालिगढहरूको खोजी हुने क्रम सुरु भएको बताउँदै भक्तपुर नपाले अग्रजहरूले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताए ।
पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरका रूपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्वान्हरूले जीवित संग्रहालयको रूपमा परिभाषित गरिरहेको प्रसंग जोड्दै उनले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताए ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरूको उत्साहजनक रूपमा कलाकारका रूपमा सहभागिता रहनु आफंैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भने ।
इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उनले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरूको मनपर्ने ठाउँका रूपमा भक्तपुर रहेको र उनीहरूले यस ठाउँकाबारे उच्च मूल्यांकन गर्दै आउनुभएको स्मरण गरे ।
उनले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याए ।
संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउँदै साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले संस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताए ।
सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरूको सहभागिता उत्साहजनक रहेको बताउँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताए ।
कार्यक्रममा भक्तपुर नपा–७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गर्दै प्रतियोगिताको मूल्यांकन निष्पक्ष ढंगबाट भएको बताए ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राखेका थियो भने भक्तपुर नपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मान पत्र प्रदान गरेको थियो भने उनले उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण गरे ।
त्यस्तै विशेष अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई पुरस्कार वितरण गरेका थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरू र सहयोगी सबैलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्