गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरू रहेको स्विकार

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरू रहेको स्विकार गरे ।
सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढंगले आफ्नै क्षमताको समेत भरपुर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताएका हुन् । ‘सूचनामा सर्वव्यापी पहुँचसम्बन्धि अन्तराष्ट्रिय दिवस’को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय कानुन निर्माणका लागि आफूले प्रतिनिधिसभाबाट प्रयत्न गरेपनि त्यस अनुसारको वातावरण बन्न नसकेको गुनासो समेत गरे ।
पछिल्ला दिनहरूमा भने गुणस्तरीय कानुन निर्माणका लागि आफूले बिहान १० बजेबाट सुरु गरिएको बैठक बेलुका १० बजेसम्म संचालन गरेको सभामुख सापकोटाको भनाइ थियो । उनले पछिल्लो बजेट अधिवेशनमा भने ३२ वटा कानुन पारित भएपनि कानुन निर्माणको काममा कमीहरू रहेको उल्लेख गरे ।
सभामुख सापकोटाले विचार र प्रविधिलाई जोडेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि पटकपटक दोहोर्याए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको बलियो सहकार्यमा मात्रै सूचनाको हकसम्बन्धि अधिकारलाई कार्यान्वयनमा लैजान सकिने पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगले पटक पटक सचेत गराउँदा पनि सूचनाको हकसम्बन्धि कानुन संशोधन गर्ने काम नभएको भन्दै गुनासो गरे । उनले सूचनाको हक पालना गर्ने र गराउने सबैभन्दा ठूलो दायित्व सरकार र सार्वजनिक निकायहरूको भएको पनि स्मरण गराए ।
प्रमुख सूचना आयुक्त गुरुङले सूचना लिन पाउने गरी अधिकारीहरूको आवश्यक व्यवस्था मिलाउन पनि सबै सार्वजनिक निकायहरूलाई पुन: सचेत गराए ।