अन्तर्राष्ट्रिय थाहा दिवस मनाइयो

सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ ।
बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रूपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे ।
उनले सूचनाको अधिकार छ, कानुन भए पनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए । राज्यले ल्याएको कानुनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुनपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय सूचना दिवसले सबैमा सूचनाको हकको अधिकार सहजै पाउनुपर्ने बताए । उनले टोल, समाजका मानिसहरूलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए ।
उनले भने, ‘सूचनाको हकको कानुन व्यावहारिक रुपमा प्रयोग गर्नको लागि राष्ट्रिय सूचना दिवसले सबैको ध्यानाकर्षण गराउनेछ । सूचनाको हकको महत्वको बारेमा सबैलाई बुझाएर आफ्नो भूमिका सशक्त बनाउनको लागि अघि बढ्न सकोस् भन्ने उद्देश्यले यो दिवस मनाइन्छ । हामीले सूचनाको अधिकार छ, कानुन छ, सबै कुरा छ, तर हामी प्रक्रियामा गइरहेका छैनौँ ।
सूचना माग्ने प्रक्रियामा गइरहेका छौँ । जो प्रक्रियामा गइरहेको छ, त्यसले पनि सूचना पाइरहेको छैन । राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाओस् । राज्यले ल्याएको कानुनलाई नागरिकस्तरबाट यसको कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्नुनपर्ने खालको वातावरण बजोस् ।’
उनले राज्यले सूचना दिवस मनाउनका लागि होटलहरूमा गरेको कार्यक्रमले मात्रै नपुग्ने भन्दै सचेतनाको लागि सरकारी सञ्चारमाध्यमहरूमा प्रचार प्रसार हुनुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौं लगायतका सचेतनामूलक पम्प्लेट टाँसेका थिए ।