साउन र भदौमा १ लाख ४० हजार बिदेसिए
२९ वर्षयता भदौमा सबैभन्दा बढी श्रमस्वीकृति

रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या भदौमा हालसम्मकै उच्च देखिएको छ । वैदेशिक रोजगारीको इतिहासमा चालू आर्थिक वर्षको भदौ महिनामा ७६ हजार ४ सय ३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आवको मंसिरको तुलनामा २ हजार ४९ बढी हो ।
लकडाउनउता गत वर्षको मंसिरमा ७४ हजारले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसियामा नेपाली श्रमिकको सेवा सुविधा वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताए ।
“पछिल्लो समय साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको हो,” महानिर्देशक आचार्यले कारोबारसँग भने, “हाल साउदी अरबमा रहेका पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुन: मलेसिया जाने प्रवृत्ति देखिएको छ ।” पछिल्लो समय साउदी अरब जानेको संख्या ११ हजारबाट घटेर भदौमा ६ हजार ७ सय ८४ कायम भएको छ भने मलेसिया जानेको संख्या असारमा १८ हजार रहेकोमा भदौमा ३१ हजार पुगेको देखिन्छ ।
गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको दोस्रो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रमस्वीकृति लिएकोमा भदौमा ७६ हजार ४ सय ३ पुगेको छ । लकडाउनउता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । गत वर्षको भदौमा भने ३६ हजार ४० युवाले श्रमस्वीकृति लिएका थिए ।
साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । गत आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ६१ हजार ४ सय ६७ रहेको थियो भने चालू आवको साउन र भदौमा १ लाख ४० हजारले श्रमस्वीकृति लिएका छन् ।
भदौ महिनामा मेनपावर कम्पनीमार्पmत ५० हजार ५० र व्याक्तिगत २६ हजार ३ सय ५३ श्रमिकले विदेश जान श्रमस्वीकृति लिएको विभागले जनाएको छ । विभागको काठमाडांै कार्यालय, ताहाचलका अनुसार पछिल्लो कोरोना संक्रमणदर प्रभावकारी नभएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको बताए ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुन: वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतका रूपमा रहेको वैदेशिक रोजगार विगतका दुई वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्ला दुई आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमश: घट्दो दर रहेको पाइएको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ ।
गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३१ हजार २ सय ९० पुगेको थियो । गत वर्ष श्रमस्वीकृति लिनेको संख्या अघिल्ला आव वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६ सय ९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४ सय ३३ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।