नेपाली मुद्रा ऐतिहासिक कमजोर «

नेपाली मुद्रा ऐतिहासिक कमजोर

नेपाली रुपैयाँ ऐतिहासिक रुपमा कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबार १३१ रुपैयाँ ४१ पैसा पुगेको छ ।
मंगबारभन्दा केही सस्तो भएर बुधबार एक अमेरिकी डलर बराबर १३० रुपैयाँ ८४ पैसा भएकोमा मंगलबार एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको थियो ।
यसैगरी शुक्रबार एक अमेरिकी डलरबराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने त्यसपछि महँगो भएर शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको हो । यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।
पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् । विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा शनिबार १ डलरबराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने शुक्रबार ८०.७२ भारू थियो । बुधबार १ डलर बराबर ८१.६२ भारू पुगेको छ ।
पछिल्लो समय भारतीय रुपैयाँ लगातार कमजोर हुनुको कारण विदेशी लगानीकर्ताले भारतीय बजारबाट आफ्नो लगानी फिर्ता लग्न थालेकोले भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । उनीहरुका अनुसार सन् २०२२ लागेदेखि नै विदेशी लगानीकर्ताहरुले भारतीय बजारबाट आफ्नो पैसा फिर्ता लान थालेका हुन् । पछिल्लो समय विदेशी लगानीकर्ताहरुले भारतीय बजारबाट ५१ हजार करोड़ भारूभन्दा बढी फिर्ता लगिसकेका छन् । सन् २०२२ मा हालसम्म भारतीय इक्विटी बजारबाट विदेशी पोर्टफोलियो निवेशक (एफपीआईए)ले २.१५ लाख करोड़ भारतीय रुपये फिर्ता लगिसकेका छन् ।
यसैगरी, कच्चा तेलको भाउ बढेका कारण पनि भारु कमजोर भएको मानिएको छ । तर, भारतीय रुपैयाँ कमजोर भएका कारण नेपाली रुपैयाँ अमेरिकी डलरसँग ऐतिहासिक रुपमा महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढिरहेका कारण आसन्न चाडबाडमा आन्तरिक बजारमा मूल्यवृद्धि हुने डर छ । रुस तथा युक्रेनको युद्धको कारण आपूर्तिजन्य समस्याका कारण महँगी बढिरहेका बेला नेपालले अधिकांश वस्तु डलर तिरेर अयात गर्ने हुनाले नेपाली बजार झन् महँगो हुने अर्थविद्हरुको आकलन छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत साउनमा ८.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्