निजी विमान कमाउन पूर्वतिर, कर्णालीमा सास्ती

नेपालीहरूको महान् चाड दसैंकै मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हवाई सेवा नियमित नहुँदा नागरिकले सास्ती पाएका छन् । कर्णालीमा उडान भरिरहेका निजी विमानहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीका सर्वसाधारणले सास्ती पाएका हुन् ।
दसैं नजिकिँदै गर्दा घर आउन र जानका लागि टिकट समेत काटिसकेका सयौं यात्रु हवाई सेवा ठप्प भएपछि अलपत्र परेका छन् । गएको तीन दिनअघि जुम्ला गुठीचौर गाउँपालिका–३ का ईश्वर बूढाले नेपालगन्जदेखि जुम्लाको लागि तारा एयरको टिकट लिएका थिए । जहाजमा सहजै छिटै घर पुग्ने आशामा रहेका बूढा एक्कासि जहाजले जुम्ला उडान नभर्ने कुरा थाहा पाएपछि निराश भए । तारा एयरलगायत जुम्लामा उडान भर्ने सबै जहाज पर्यटक बोक्न पूर्वतिर गएपछि ईश्वर बूढालगायत सयौं यात्रु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् ।
कर्णाली राजमार्ग स्तरवृद्धि नहुँदा कर्णालीवासीका लागि भरपर्दो हवाई सेवा छ । अलपत्र यात्रु ईश्वरले भने, “कर्णालीका लागि न भरपर्दो हवाईसेवा छ, न त सुरक्षित सडक यात्रा । दसैं–तिहारजस्ता चाडमा पनि सहजै घर जाने अवस्था छैन । एयरलाइन्सहरूको मनपरीले कर्णालीवासीले कहिलेसम्म सास्ती पाउने ?”
जुम्ला, हुम्ला, मुगु र डोल्पामा केही समययता जहाजले उडान भर्न छाडेका छन् । दसैंकै मुखमा नाफा कमाउन जहाज पूर्वतिर गएपछि कर्णालीवासीले सास्ती खेप्नुपरेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् । तर, प्रत्यक वर्ष दसैंतिहारकै बेला सबै जहाज पर्यटक बोक्न पूर्वतिर जाँदा यात्रुहरूले कष्ट पाउने गरेका छन् ।
दसैंतिहारमा सडक तथा हवाई यातायात सहज र सबै नागरिकका लागि पहुँचयोग्य हुनुपर्ने कर्णालीवासीको माग भए पनि एयरलाइन्सहरू नाफामुखी भएको नागरिक अगुवा राजबहादुर महत बताउँछन् ।
नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगर्दा नागरिकले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । सुर्खेत जुम्ला सडकको २ सय ३२ किमि सडक अझै भरपर्दो नभएकाले महँगो भाडा तिरेर पनि नागरिक हवाई यात्रा गर्न बाध्य थिए । तर, विगत तीन हप्तादेखि जुम्लामा नियमित हवाई सेवा ठप्प हुँदा कर्णालीवासी अलपत्र परेका छन् । बर्सेनि दसैंतिहारका बेला जहाजहरूले कर्णालीलाई बेवास्ता गर्दै पूर्वतिर नाफा कमाउन जाने भएकाले सरकारी स्तरबाटै ठोस निर्णय हुनुपर्नेमा नागरिक अगुवा महतको जोड छ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले जुम्लामा समिट एयर र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको बताए । उनले भने, “जुम्लामा त्यति यात्रुको चाप देखिन्छ । नेपाल एयरलाइन्सले हप्तामा आइतबार र मंगलबार फ्लाइट गरिरहेको छ । समिट एयर दिनमा एक उडान भर्दैै आएको छ । नेपालगन्जबाट आउनेहरूको चाप भए पनि जुम्लामा छैन ।” दुईवटा जहाजमा पनि पावर र चिनजानका आधारमा टिकट लिने गरेकाले सर्वसाधारणले दु:ख पाएको गुनासो छ ।
समन्वयका लागि ध्यानाकर्षण
जुम्लालगायत कर्णाली प्रदेशका दुर्गम जिल्लामा हवाई सेवा नियमित गर्न जिल्ला समन्वय समिति जुम्लाले ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कर्णालीमा दसैंकै मुखमा हवाई सेवा ठप्प भएकाले संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्न ध्यानाकर्र्षण गराएको बताए ।
उनले भने, “कम्पनीहरूले सबै जहाज पूर्व पठाएर कर्णालीका यात्रुलाई बिचल्लीमा पार्नु सेवा नभई दु:ख दिने नियत हो । कर्णालीका नागरिकको समस्याप्रति नजरअन्दाज सह्य हुँदैन । तत्काल हवाई सेवा सुरु गर्न ध्यानाकर्षण गरेका छौं । सुनुवाइ नभए थप कदम चाल्छौं ।”
साथै निजी हवाई सेवाप्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्युल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइएको जिससका उपप्रमुख जनक थकालीले बताए ।
भौगोलिक रूपमा विकट र सडक यातायातको सहज पहुँच नभएको कर्णालीमा हवाई सेवामा पनि मनपरी हुनुले कर्णाली अझै राज्यको नजरबाट अपहेलित रहेको ठम्याइ छ । कर्णालीका हिमाली जिल्लाहरूको एकमात्र विकल्प हवाई यातायात सेवालाई नियमित र सहज गर्न कर्णालीवासीले जोडदार माग गरेका छन् ।