Logo

पर्यटन प्रवद्र्धन र आयआर्जनको माध्यम बन्दै मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुम खण्ड सञ्चालनमा आएसँंगै यहाँको पर्यटन प्रवद्र्धनसँंगै स्थानीयको आर्थिक उपार्जनमा सहयोगी बनेको छ । लोकमार्ग विस्तार भएसंँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुराँ सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो ।
मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँंगै रुकुम पश्चिम तथा रुकुम पूर्वका स्थानीयलाई आयआर्जनको माध्यम बन्न पुगेको छ । सडक छेउछाउमा पसल व्यवसायदेखि होटल रेस्टुराँ सञ्चालनमा ल्याएर आयआर्जनको माध्यम बन्न पुगेको हो । लोकमार्ग सञ्चालनले सडक आसपासका स्थानीयलाई गाउँमै सानादेखि ठूला व्यवसाय सञ्चालन गर्न सहज भएको छ । लोकमार्ग सञ्चालनले चौरजहारी, चाइनाबगर, सिम्ली, साँख, रुकुमकोटलगायत विभिन्न ठाउँमा वस्ती विस्तारसँंगै ठूला व्यवसायले पूर्णता पाएका छन् । हाल रुकुम पश्चिम खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । त्यस्तै जिल्लामा उत्पादन हुने खाद्य तथा गैरखाद्य सामग्री जिल्ला बाहिर लिएर बिक्री वितरण गर्न समेत जिल्लाबासीलाई सहजता भएको छ ।
मध्यपहाडी लोकमार्गका कारण सडक आसपासमा व्यवसाय सञ्चालन गरेर धेरैका लागि आयआर्जनको स्रोत भनेको रुकुम पश्चिमको पर्यटकीय क्षेत्र साँखगाउँमा अर्गानिक रेस्टुराँ सञ्चालन गरेका सञ्चालक रुपक बुढाले बताए । “सडक नहुँदा सुनसान रहेका क्षेत्रहरू मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएदेखि केही सानोतिनो व्यवसाय गरेर आफ्नै गाउँठाउँमा बस्ने मेलो बनेको छ,” उनले भने, “मैले साँखगाउँमा सञ्चालन गरेको अर्गानिक कटेजबाट मासिक ५० हजार आम्दानी हुने गरेको छ ।”
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्न सकिने भएका कारण यात्रा झन रोमाञ्चक हुने गरेको छ । यस लोकमार्ग भएर यात्रा गर्दा जिल्लाको चौरजहारी फाँट, सानीभेरी नदी, साँख दह, सिस्ने हिमाल र कमल दहलगायत बाग्लुङ पोखराका पर्यटकीय स्थलहरूको अवलोकन गरेर यात्रा गर्न सकिने स्थानीय कुमार हमाल बताउँछन् । उनका अनुसार रुकुम पश्चिमका नागरिकलाई यसअघि प्रयोग हुँदै आएको राप्ती लोकमार्ग भएर राजधानी काठमाडौं जाँदाभन्दा मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा ९७ किलोमिटर छोटो पर्ने गरेको छ । “जसका कारण पछिल्लो समय व्यक्तिगत तथा सार्वजनिक सवारी मध्यपहाडी लोकमार्ग भएर नै गुड्ने गरेका छन्,” उनले भने, “मध्यपहाड भएर सडक खनिएका कारण वर्षा तथा अन्य समयमा पहिरोका समस्या रहेका कारण सडकको खाल्डाखुल्डी र थप स्तरवृद्धि गरिए झनै छिटो र सुरक्षित यात्रा हुने थियो ।”
रुकुम पश्चिम भएर रुकुम पूर्व, बाग्लुङ पोखरातर्फको लोकमार्ग खण्ड संचालनमा आए पनि रुकुम पश्चिम भएर जाजरकोट, दैलेखतर्फको लोकमार्ग खण्ड भने सञ्चालनमा आउन सकेको छैन । जसका कारण रुकुमबाट देशको पश्चिमी क्षेत्रतर्फको यात्रा गर्दा पुरानै राप्ती लोकमार्ग भएर नै यात्रा गर्नुपर्ने बाध्यता छ । लोकमार्गमा पर्ने रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जोड्ने भेरी नदीमा पर्नेे मोटरेबल पुल निर्माण कार्य सम्पन्न नहुँदा यस्तो समस्या भएको हो । रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरयवल पुल निर्माणको काम थालिएको सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण उक्त पुल सञ्चालनमा आउन सकेको छैन ।
ठेकेदारकै ढिलासुस्ती र लापरबाहीका कारण पुल निर्माण अलपत्र हुँदा मध्यपहाडी लोकमार्गमार्फत यात्रा गर्न यात्रुहरूलाई निकै अफ्ठ्यारो भएको छ । लोकमार्गअन्तर्गत भेरी नदी यताको रुकुम खण्ड र उताको जाजरकोट खण्डको सडक स्तरवृद्धिको काम सम्पन्न भए पनि त्यस लोकमार्गबाट सिधा यातायात सञचालन हुन सकेको स्थानीय सञ्चारकर्मी गोपाल रेग्मीले बताए । उनका अनुसार पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोटबासी सडक सञ्जाल जोडिनबाट वञ्चित छन् । दुवै जिल्लाका स्थानीय हाल पैदलमार्फत आवत–जावतका लागि झोलुंगे पुलको भरमा छन् । “सबैभन्दा दु:खको कुरा मध्यपहाडी लोकमार्गमा सडकको काम सकिएर पनि पुल निर्माण नहुँदा सडक उपयोगविहीन जस्तै भएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्