उपमेयरको नेतृत्वमा काठमाडौं महानगरको बजार अनुगमन «

उपमेयरको नेतृत्वमा काठमाडौं महानगरको बजार अनुगमन

काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैं लक्षित बजार अनुगमन गरेको हो ।
उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।
बजार अनुगमनका क्रममा उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताइन् । बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको भन्दै उपमेयर डंगोलले अनुगमनको क्रमलाई दसैंपछि पनि निरन्तरता दिने प्रतिवद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।
“दसैंको समयमा धेरै अनियमितता हुने देखिएको छ, बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन्” उनले भनिन्, “कारबाही भन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही गर्नेछौँ ।”
अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको भन्दै उनले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता जनाइन् ।
“हामीले उपभोक्तालाई डेट सकिसकेका खाद्य सामग्री बेचेका छैनौँ” उनले भनिन्, “हामी महानगरपालिकाले दिएको सुझावलाई सुधारेर जान्छौँ ।”
उनले यस वर्षको दसैंका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताइन् । थापाले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको बताइन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । उनले महानगरले गरेको अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गरे । उनले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै वर्जित गरेको बताए । उनले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्