२४ असोजदेखि काठमाडौंमा ग्रिन हाइड्रोजन सम्मेलन «

२४ असोजदेखि काठमाडौंमा ग्रिन हाइड्रोजन सम्मेलन

२४ असोजदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
एमआईटी ग्रुप फाउण्डेसन, ग्लोवल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजना आगामी २४ असोजदेखि दुई दिन नेपाल ग्रिन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो । नेपाल हरित हाइड्रोजन सम्मेलन: ‘पग्लिदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ ।
सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ उर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रिन हाइड्रोजनले जनाएको छ । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र श्रोत उल्लेख्य भएपनि व्यवसायिक रुपमा कसरी अगाडी बढ्न सकिन्छ भने अध्ययन गर्न आवश्यक रहेको बताए ।
उनले अब बिस्तारै ग्रिन हाइड्रोजनमा जानैपर्ने भएका कारण परिणाम कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक भएको बताए । उनले परिणामका लागि चाहना मात्रै भएर नपुग्ने भन्दै सरकारको नीति लगायतका कुरा आवश्यक रहेको बताए । उनले हाल नेपालमा हाइड्रोजनसम्बन्धी कानूनी व्यवस्था नै नहरको जिकिर गरे ।
सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र विश्लेषण हुनेछ । योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।
दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, वहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्