Logo

बंगलादेशमाथि नेपालको शानदार जित

मैत्रीपूर्ण फुटबल खेलमा मंगलबार नेपालले बंगलादेशलाई पराजित गरेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १८ औं मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा अञ्जनले नै दोस्रो गोल गरे भने ३८ औं मिनेटमा ह्याट्रिक गरे । पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो । खेलको ५७ औं मिनेटमा बंगलादेशले एक गोल फर्कायो । बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए ।
बंगलादेशविरुद्धको ह्याट्रिकसँगै अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए । मंगलबारकै खेलबाट आशिष चौधरी र ऋतिक खड्काले नेपालको राष्ट्रिय फुटबल टोलीमा डेब्यू गरेका छन्।

बक्स
नवौं राष्ट्रिय खेलकुद राष्ट्रपतिले उद्घाटन गर्ने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले यस्तो जानकारी दिएका हुन् । उनले नवौं राष्ट्रिय खेलकुदको लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिए । उनले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताए ।
पोखरास्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रबार हुनेछ । यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका रहेको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने काठमाडौंमा सम्पन्न भइसकेको छ । ११ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभूवन आर्मी क्लवलाई हराउँदै नवौंको पहिलो स्वर्ण पटक हात पारिसकेको छ । यस्तै मंगलबार नै आयोजित अन्तरक्रिया कार्यक्रममा नवौंमा सहभागि हुन लागेका खेल संघलाई आयोजक राखेपले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ । नगद दुई लाख बाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ । ३५ दिनभित्र पेश्की फस्र्यौट गर्न पनि ताकेता गरेको छ ।
२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोभिड महामारीका कारण नवौं समयमा हुन सकेको थिएन । हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भए पनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो । ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन् ।
यसै संस्करणबाट राखेपले रनिङ ट्रफी पनि बनाएको छ । हाल ट्रफी भ्रमणमा रहेको छ । ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदैछ । ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउँदैछ । उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही छन् ।
नवौंका प्रतिष्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पोखरामा मात्र २६ वटा खेलका प्रतिष्पर्धा हुने भएका छन् । गण्डकीका कुल ११ जिल्लामध्ये तनहुँ, लमजुङ, मुस्ताङ र मनाङमा नवौंका कुनैपनि खेल नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्