Logo

यसपालि पनि एमालेले सरकार बनाउँछ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रूपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्न नहुने बताउनुभयो । उनले भने, ‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाईंका रूपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाइँको रूपमा हामी यो निर्वाचनमा छौं ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे । ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन् । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षड्यन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ’, उनले भने । उनले पाँच दलीय गठबन्धनको कुनै भविष्य नरहेको बताए ।
स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए । उनले १ लाखभन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए । ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन् । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’, पोखरेलले भने ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले उमेरले युवा र बुढो नहुने बताउनुभयो । ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’
नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा (एमाले) भएको उनको भनाइ छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उनले स्मरण गराए । पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार हु्न् ।

प्रतिक्रिया दिनुहोस्