एनएचपीसीले पश्चिम सेतीको सर्वे लाइसेन्सको आवेदन दियो

एनएचपीसीले पश्चिम सेतीको सर्वे लाइसेन्सका लागि लगानी बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ । भारतीय कम्पनी बोर्डका सीईओ सुशील भट्टलाई एनएचपीसीका प्रतिनिधिहरुले मंगलबार सर्वे अनुमतिपत्रको आवेदन बुझाएका हुन् ।
लगानी बोर्डले २ भदौमा पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी–६ आयोजना विकासका लागि एनएचपीसी लिमिटेडसँग सम्झौता गरेको थियो । ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको सेती नदी ६ दुवै परियोजनाको विस्तृत अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न बोर्डले एनएचपीसीसँग सम्झौता गरिसकेको छ । बोर्डको गत जेठ २३ गते बसेको बैठकले पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना एनएचपीसीलाई दिने निर्णय गरेको थियो ।
पश्चिम सेतीको सर्वे अनुमतिका लागि समझदारी भएको ४५ दिनभित्र र सेती नदी–६ को ६ महिनाभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । ४५ दिनअगावै आफूहरुले आवेदन पेस गरेको एनएचपीसीले जनाएको छ ।
सर्वे अनुमति पाएको दुई वर्षभित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन लगानी बोर्डमा पेस गर्नुपर्ने छ । जसमा अनुमानित लागत, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तीय स्रोतको उपलब्धता, परियोजना कार्यान्वयनको तरिकालगायत समावेश हुन्छ ।
भारत सरकार स्वामित्वको एनएचपीसीले सोलार, हाइड्रो, वायु ऊर्जा गरी सात हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गरिसकेको जनाएको छ । करिब पाँच हजार मेगावाटका आयोजना विभिन्न चरणमा निर्माण गरिरहेको पनि कम्पनीले दाबी गरेको छ ।
करिब १ खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको सुदूरपश्चिममा निर्माण हुने पश्चिम सेतीको लागत हाल २ खर्ब पुगेको छ । सुरुमा फ्रेन्च कम्पनी सोग्रेच कन्सल्ट्यान्टले १९८०–८१ मा अध्ययन गरेको यो आयोजना निर्माणको लागि जलस्रोत मन्त्रालय र अस्ट्रेलियन कम्पनी स्मेकबीच १९९७ जुन ७ मा परियोजना सम्झौता भएको थियो । तर, वित्तीय व्यवस्थापन गर्न नसकेपछि सन् २०११ मा सम्झौता खारेज भएको थियो ।
त्यसपछि सन् २०१२ मा चिनियाँ कम्पनी सीटीजीआईसँग सम्झौता भयो । तर वित्तीय रूपमा सम्भावना नभएको भन्दै चिनियाँ कम्पनीले पनि आयोजना छोडिदियो । हिमालयन पावर कन्सल्ट्यान्टले १९८७ मा प्रारम्भिक अध्ययन गरेर ६४२ मेगावाट प्रस्ताव गरेको थियो ।