वास्तविक विस्थापितलाई सरकारी जग्गामै घर «

वास्तविक विस्थापितलाई सरकारी जग्गामै घर

भूकम्पले गाउँ पहिरोको उच्च जोखिममा पारेपछि परिवारै विस्थापित भई सेलाङको बाँसखर्क आएका वास्तविक भूकम्पपीडितलाई सरकारी जग्गामै घर बनाएर बस्न दिइने भएको छ । पुरानै थातथलोमा फर्कन नसक्ने र अन्यत्र जग्गा नभएका विस्थापित परिवारलाई सो अवसर दिइन लागिएको हो ।
अहिले साविक गोल्चे, गुम्बा, बतासे, पाङताङ र स्याउले गाविसका भूकम्पपीडितहरू सेलाङको बाँसखर्कको सार्वजनिक जग्गामा बसोबास गरिरहेका छन् । सम्बन्धित गाउँपालिका, वडा र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको लाभग्राहीलाई अहिले टहरा बनाई बसिरहेको सरकारी जग्गा प्रदान गरेर आवास निर्माण गर्न दिइने भएको हो । बुधबार प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद अग्निप्रसाद सापकोटाले नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग अन्तरक्रिया गर्दै सोही स्थानमा बस्ती बसाल्ने पहल भएको हो । वास्तविक समस्या परेका लाभग्राहीलाई सोही स्थानमा बसोवास गराउन समन्वय गरिरहेका जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा सांसदसँगै प्राधिकरण पुगेका थिए । “अन्यत्र जग्गा हुनेले पाउनु भएन, समस्या नै भएकालाई दिनुपर्छ,” प्रमुख कार्यकारी अधिकृत भुसालको भनाइ उद्धृत गर्दै शर्माले भन्े, “वडा, गाउँपालिकाले निरीक्षण गरेर वास्तविक लाभग्राही छुट्याएकालाई सोही स्थानमै बस्ती बसाल्ने हो ।”
यसअघि जेठ ३१ गते तत्कालीन प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल विस्थापितको बस्ती मै पुगेका थिए । उनले विस्थापितहरूको अवस्था निरीक्षण गरेपछि सोही स्थानमा जग्गा दिने प्रतिबद्धता जनाएपछि विस्थापित खुसी भएका थिए । त्यसपछि जिल्लामा गठित अध्ययन टोलीले विस्थपितको पहिचान गरी सूची बनाएको थियो । “हामीले १५४ विस्थापित परिवार भनेर पहिचान गरेका छौं,” सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, “ती सबै वास्तविक पीडित भने होइनन्, अधिकांशले आवास निर्माणको पहिलो र दोस्रो किस्ता लिइसकेका छन् ।” उनले अनुदान लिइसकेर आवास निर्माण थालेकाहरू विस्थापित भनेर सरकारी जग्गामा बस्न नपाउने बताए । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले पहिचान गरेको लाभग्राहीको सूचीसमेत बुधबार प्रमुख कार्यकारी अधिकृतलाई बुझाइएको थियो ।
पहिचान गरिएकामध्ये धेरै परिवारले अनुदान लिइसकेका छन् । जोखिम भएका भनिएको पुरानो थातथलोसँग जग्गा साटेर वास्तविक पीडितका लागि अहिले बस्दै आएको स्थानमा आवास निर्माणका लागि जग्गा दिलाउने सांसद अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।
विस्थापितहरूका लागि पुनर्निर्माण प्राधिकरणकोे अगुवाइ, अक्सफामको सहयोग तथा सामुदायिक आत्मनिर्भरता सेवा केन्द्र र जनहित ग्रामीण सेवा समितिको समन्वयमा एकीकृत बस्ती बनाउन अध्ययन गरिएको हो । पहिलो चरणमा साविक सेलाङको वडा नं. ८ र ९ का विस्थापितको पुरानो थातथलोको अवलोकन गरेको थियो । सोअनुसार पुनर्निर्माण प्राधिकरण समन्वय समितिले सेलाङका विस्थापितलाई अहिले बस्दै आएको स्थानमा जग्गा दिई आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरिसकेको छ । अहिले यहाँका बालबालिका दैनिक ५ घण्टासम्म हिँडेर विद्यालय जान्छन् । खानेपानीको समस्या उस्तै छ ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्