चन्दनाथ भैरवनाथ मन्दिरको लिंगो फेरियो

कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकिय स्थल जुम्ला सदरमुकामस्थित चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो फेरिएको छ । परम्पराअनुसार घटस्थापनाका दिन आईबार मन्दिरमा नयाँ लिंगो हालिएको हो । मन्दिरमा ५२ हातको लिंगो र ५२ हातको ध्वजा तथा नेजा हालिएको छ ।
सयौ भक्तजन, सुरक्षाकर्मीको सहभागितामा मन्दिरमा नयाँ लिंगो फेरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए । उनले भने, “चन्दननाथ मन्दिरमा लिंगो हालेपछि मात्रै मात्रै कर्णाली क्षेत्रमा घटास्थापना भित्राउने चलन छ । भने जुम्लामा चन्दननाथकै माटो लिएर घरमा जमरा राख्ने गरीन्छ । बर्सेनि घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो हाल्ने चलन छ ।”
एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो र ५२ हातकै ध्वजा राख्ने प्रचलन रहेको जुम्लाका सस्कृतिविद रमानन्द आचार्य बताउँछन् । उनका अनुसार घटास्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा सहितको लिंगा फरिएको छ ।
लिंगो ठड्याउँदा नेपाली सेनाले तोप सहितको सलामी दिने गर्छन् । मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्गो ठड्याइन्छ । विहानैदेखि भक्तजन तथा सुरक्षाकर्मीको बाक्लोे सहभागितामा लिंगो हालिन्छ ।
लिंगोमा फूल अछेता, पैसा हाल्नेको भीड पनि बाक्लो हुने गरेको छ । मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिंगोको ध्वजा लिँएर लगाउँदा भुतप्रेत नलाग्ने जस्ता सामाजिक मुल्यमान्यता अहिले पनि कायमै रहेका कारण लिंगो फेर्दा बाक्लो भीड हुने गरेको समेत गुठीका अध्यक्ष कठायतले जानकारी दिए ।
चन्दननाथ भैरबनाथ मन्दिरमा लिंगो खडा गरेसँगै घरघरमा घटनास्थाना भित्राएपछि मात्रै जुम्लामा औपचारिक दसंै सुरु भएको मानिन्छ । साथै घटस्थापनाका दिन नायँ मार्सी धानको चामलसमेत मन्दिरमा चढाउने गरिन्छ । जसलाई स्थानीय भाषामा (न्वागी) भन्छन् । न्वागीका रुपमा मन्दिरमा शिख चढाएपछि उत्पादन बृद्धि हुने समेत मान्यता रहेको स्थानीय चित्रलाल श्रेष्ठले बताए । उनले भने, “विगतको जस्तो स्थानीयको सक्रियता देखिन्न । सुरक्षाकर्मीकै भरमा लिंगो फेर्नु पर्ने अबस्था छ । भक्तजनको आर्कषण घट्दै जानुले मन्दिरको पूजा आजाका कामहरू प्रभावित छन् ।”
यता प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले मन्दिरको सुरक्षा व्यवस्थापनमा कुनै कसुर नराख्ने बताए । चाडपर्व लक्षित सुरक्षा योजना पनि बनाएका छौ । चाडपर्वमा हुने सक्ने घटनाहरूको न्युनिकरणमा प्रहरी प्रशासन लागि परेको उनको भनाई छ ।
स्थानीयतहका प्रमुख उपप्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख सयौं भक्तजन र सुरक्षाकर्मीको सहभागितामा चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिंगा फेरिएको छ ।