खाडीमा रोजगारी गुमाएकाको आत्मबल सीपमूलक तालिमले बढाउँदै «

खाडीमा रोजगारी गुमाएकाको आत्मबल सीपमूलक तालिमले बढाउँदै

१२ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसिया बसेका पर्साको पर्सागढी नगरपालिकाका बृजकिशोर चौरसियाले कोभिडको महामारीमा रोजगारी मात्रै गुमाएनन् । उनले आफ्नो भाईलाई पनि विदेशी भूमिमै गुमाउनु पर्‍यो ।
उनका भाइ सिकेन्द्रप्रसाद चौरसिया हुँदा छदाको लघुवित्त वित्तीय संस्थाको जागिर छोडेर मलेसिया गएका थिए । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ भइरसको चपेटामा परेर सिकेन्द्रले विदेशी भूमिमा नै ज्यान गुमाउनुपर्‍यो । उनको १३ महिनाअघि कोभिड लागेर मलेसियामा नै मृत्यु भयो ।
सिकेन्द्रलाई कोभिड भएपछि कम्पनीले मलेसियाको कोभिड अस्पतालमा लगेर भर्ना गर्‍यो । कोभिड अस्पतालबाटै आमासँग ६ घण्टा लगातार मोबाइलमा कुराकानी गरेका उनको आमासँगको अन्तिम कुराकानी नै भयो । अस्पतालमै उपचार गराउँदा गराउँदै सिकेन्द्रको मृत्यु भयो ।
सिकेन्द्रको मृत्यु भएपछि उनको शव नेपालमा ल्याउन पनि परिवारले पाएनन् । नेपाल सरकारसँग अनेक हारगुहार गरेपछि यहाँबाट कुटनीतिक माध्यमबाट मात्रै १२ सेकेण्डको एउटा भिडियोमा सिकेन्द्रको शव परिवारलाई देखाइयो ।
भाइ गुमाएको र रोजगारी गुमाएको पीडा लिएर नेपाल फर्किएका बृजकिशोर चौरसिया अहिले गाउँमै आल्मुनियम फेब्रिकेटरको तालिम लिइरहेका छन् । १२ वर्षसम्म विदेशमा बसेका उनले अहिले तालिम लिइँरहँदा भाइ र रोजगारी गुमाएको मात्रै नभइ आफ्नो समयसमेत खेर गएको महशुस गरेका छन् ।
विदेश जानुअघि नै गाउँम सीपमूलक तालिम लिएको भए विदेश जानुपर्ने बाध्यता पनि नरहने र दु:ख पीडा पनि भोग्न पर्दैनथ्यो भनेर पश्चाताप गरेका छन् । अनेक पीडाकाबीच पनि गाउँमै तालिम लिएपछि अब भने आफैले केही गर्नुपर्छ भनेर आत्मबल बढेको उनी बताउँछन् ।
उनी भन्छन्, “विदेशमा गएर दु:खै गरेर भएपनि अलिअलि पैसा त कमाएको थियो । तर, त्यसको सही सदुपयोगको लागि कहाँ कसरी लगानी गर्ने भन्ने अन्योलता तालिमले हटाएको छ ।”
यूएनडीपी, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) मार्फत साना व्यावसाय परामर्श तथा तालिम परिषदले दिएको एकमहिने सीपमूलक तालिमले अहिले बृजकिशोरको मात्रै नभइ पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाटाँडीका ३३ वर्षीय जैनुद्दीन अन्सारीको पनि आत्मबल बलियो बनेको छ । खाडीका चारवटा देशमा वैदेशिक रोजगारीका लागि गएका थिए ।
३३ वर्षीय जैनुद्दीन पनि साउदी, कतार, दुबई र कुवेत गरी चारवटा देशमा रोजगारीका लागि गएका थिए । उनी पनि कोभिड महामारीकै समयमा रोजगारी गुमेपछि नेपाल फर्किएका हुन् । कुनै सीपमूलक तालिम नलिई विदेश गएका उनी कतै ड्राईभर बने कतै हेल्परको काम गरे । नेपाल फर्किपछि उनले पनि आल्मुनियम फेब्रिकेटरको तालिम लिएका छन् ।
अब उनी आफैं आल्मुनियम फेब्रिकेटरको काम गर्न पसल खोल्ने नभए नेपालमै काम खोजेर गर्ने मनसायमा छन् । किनभने एक महिनाको सीपमूलक तालिमले उनलाई दक्ष बनाएको मात्रै नभइ आत्मबल पनि बढेको छ ।
साना व्यावसाय परामर्श तथा तालिम केन्द्रले फेब्रिकेटर मात्रै होइन नेपाली कुजिन कुकिङ अर्थात नेपाली परिकार पकाउने (पाक कला) को समेत तालिम दिएको छ । पर्सागढी नगरपालिका मै २० जना विदेशबाट फर्किएकालाई तालिम दिइरहेको छ । तालिम केन्द्रले पर्सागढी नगरपालिकामा २० जनालाई आल्मुनियम फेब्रिकेटर र २० जनालाई नेपाली परिकारको पाक कलाको तालिम दिइएको कार्यक्रम संयोजक नवराज घिमिरेले बताए ।
वैदेशिक रोजगारी गुमाएर नेपाल फर्किएकालाई नेपाल सरकारले नि:शुल्क रोजगारमुखी सीपमूलक तालिम दिइरहेको छ । सरकारले लुम्बिनी प्रदेश र मधेस प्रदेशमा सञ्चालन गरेको तालिम ६६ प्रतिशत सम्पन्न भई तालिम लिएकाको दक्षता परीक्षण पनि सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसन्धान अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा बढी विदेश गएका छन् । दक्षता तामिल भने अहिलेसम्म ९७५ जनाले लिएका छन् । त्यसमध्ये ५१९ जनाले तालिम लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्