Logo

दूरसञ्चारमा लक्ष्यभन्दा बढी प्रगति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्षमा दूरसञ्चार लगायतका कतिपय महत्वपूर्ण क्षेत्रमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकांक भन्दा बढी उपलब्धि हासिल भएको विवरण मन्त्रालयले हालै सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार इन्टरनेट ग्राहकको घनत्व, मोबाइल टेलिफोनको ग्राहक संख्या, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार, मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार र सरकारी सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने शीर्षकका सूचकांकहरुमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा इन्टरनेट ग्राहकको घनत्व ९४ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएकोमा १ सय ३० प्रतिशत पुगेको छ । अघिल्लो आव सम्ममा यस्तो घनत्व ९१ प्रतिशत मात्र थियो । यस्तै, मोबाइल टेलिफोनको ग्राहक संख्यातर्फ अघिल्लो आवमा प्रतिलाख ३ सय ८० जना रहेकोमा गत आवको लक्ष्य ४ सय पुर्‍याउने थियो । तर, असार मसान्तसम्म ४ सय २० जना पुगिसकेको उल्लेख छ । देशभरका सबै स्थानीय तह अर्थात ७ सय ५३ वटै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य गत आवमै पूरा भएको हो । मन्त्रालयका अनुसार अघिल्लो आवसम्ममा ७ सय १३ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको थियो ।
अघिल्लो आवमा कूल २५ प्रतिशत क्षेत्रमा पुगेको फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार गत आवमा ३२ प्रतिशतमा विस्तार भएको छ । असारसम्मको लक्ष्य भने २८ प्रतिशतमा पुर्‍याउने थियो । यस्तै, मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारतर्फ ७२ प्रतिशतको लक्ष्य लिइएकोमा ९९ प्रतिशतको उपलब्धि हासिल भएको छ । अघिल्लो आवमा यो शीर्षकको सूचकांक ६५ प्रतिशत मात्र थियो । सरकारी सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने शीर्षकको सूचकांकमा पनि लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको जनाइएको छ । गत असारसम्ममा ४२ सरकारी निकायलाई यस प्रणालीमा लैजाने लक्ष्य रहे पनि कूल ४५ वटा निकायले यो सेवा सुरु गरिसकेका छन् । अघिल्लो आवको असार मसान्तसम्म यसरी अनलाइनमार्फत सेवा प्रवाह गर्ने सरकारी निकायको संख्या २२ मात्र थियो ।
मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलका अनुसार इन्टरनेट सेवासँग सम्बन्धित क्षेत्रमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भए पनि यससँग सम्बन्धित पूर्वाधारका क्षेत्रमा भने लक्ष्यको तुलनामा उपलब्धि कमजोर रहेको छ । “खासगरी अप्टिकल फाइबर विस्तारका क्षेत्रमा हामी अझै कमजोर देखियौं” उनी भन्छन्, “गत आर्थिक वर्षभरीमा हामीले १९ हजार १७० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइसक्ने लक्ष्य राखेपनि १२ हजार २२४ किलोमिटरमा सीमित भएका छौं ।” उनका अनुसार गत आवमा ८ हजार ६४३ किलोमिटर अप्टिकल फाइबर विस्तारको लक्ष्य राखिए पनि १ हजार ६९७ किलोमिटर मात्र अप्टिकल फाइबर विस्तार भएको छ ।
अप्टिकल फाइबर जस्तै रेडियोको राष्ट्रिय पहुँच वृद्धि, हुलाक सेवामा अनलाइन ट्र्याकिङ प्रणाली र डिजिटल टेलिभिजन पहुँच शीर्षकका सूचकांकमा भने लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको छैन । मन्त्रालयका अनुसार गत आवमा ८३ प्रतिशत नागरिकमा रहेको रेडियोको राष्ट्रिय पहुँच हाल भने ९१ प्रतिशतमा पुगेको छ । तर, गत आवमै यसलाई ९६ प्रतिशतमा विस्तार गर्ने लक्ष्य राखिएको थियो । यस्तै, डिजिटल टेलिभिजन पहुँचका क्षेत्रमा गत आवमा शून्य प्रगति हासिल भएको छ । कूल ७२ प्रतिशत घरधुरीको डिजिटल टेलिभिजनमा पहुँच रहेकोमा अघिल्लो आवमा यसमा कुनै सुधार हुन सकेन । जबकि यसलाई ९२ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको थियो । हुलाक सेवामा अनलाइन ट्र्याकिङ प्रणाली ७५ जिल्लामा विस्तार गर्ने लक्ष्य राखिए पनि अघिल्लो आवको जत्तिकै अर्थात ७३ जिल्लामै सीमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्