सरकारको उदासिनताले डेंगु बढ्यो «

सरकारको उदासिनताले डेंगु बढ्यो

डेंगु रोगको प्रकोप बढ्दो छ । डेंगुका बिरामीले अस्पतालका बेड भरिन थालेका छन् । हालसम्म करिब तीन दर्जन डेंगु बिरामीको मृत्यु भइसकेको छ । डेंगुले भयावह रुप लिँदा पनि सरकार भने मौन छ । संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारलाई डेंगु महामारीभन्दा राजनीति प्यारो भएको छ । । तर जनता आक्रान्त बनेका छन् । डाक्टरहरू सरकारले समयमा नै सचेतना नअपनाउँदा यो अवस्था आएको दाबी गर्दछन् । सरकार सत्ता गठबन्धनमै केन्द्रित रहेर जनताको स्वास्थ्यप्रति बेवास्ता गरेको स्वास्थ्यविद्हरूको आरोप छ । नेताहरूले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगुले धेरैको ज्यान गइसकेको भन्दै आरोप लाग्दा नेताहरू विगतमा कोरोना कहरलाई पनि साधारण मानेकै कारण धेरैको ज्यान गएको बिर्सन पुगेका छन् । त्यसैले डेंगु भयंकर फैलिइरहँदा पनि नेता र पार्टी कहींकतै बोलेका छैनन् ।
देशका नेताहरू गठबन्धन, चुनाव र निजी स्वार्थमा केन्द्रित हुँदा जनताले दु:ख भोग्नु परेको तथा नेताहरूमा जनताको स्वास्थ्यबारे चासो र चिन्ता नदेखिएकोमा स्वास्थ्यविदहरू चिन्तित छन् । स्वास्थ्यविदहरूले विगतमा कोरोनाले महामारीको रूप लिन्छ है भनी सचेत गराउँदा पनि त्यसलाई बेवास्ता गर्दा परिणाम भयावह देखियो । डेंगुलाई पनि सरकारले अझै पनि गम्भीरता नदेखाएको कारण धेरै मानिसको ज्यान गइरहेको छ । लामखुट्टे मार्ने धूवाँसमेतको प्रयोग सरकारले गरेको छैन । अझ टिठलाग्दो कुरा त स्थानीय सरकारले डेंगु नियन्त्रण गर्न कुनै जिम्मेवारी लिएको देखिएन । स्वास्थ्य मन्त्रालयमातहतका निकाय तथा मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यलगायतका स्थानीय निकायले गम्भीरताका साथ खटिनुपर्ने बेलामा सबैलाई राजनीति लागेको छ ।
डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएका कारण प्रत्येक दिन चेकजाँच गर्ने १० बिरामीमध्ये २/३ जना डेंगु संक्रमित हुने गरेका स्वास्थ्यविदहरू बताउँछन् । जसका कारण डेंगु नियन्त्रणमा निराशाजनक अवस्था देखिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने स्वास्थ्यविदहरूको धारणा छ । अझै पनि लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान चालू गरी यसलाई नियन्त्रण गर्न तथा डेंगु रोग नियन्त्रण र यसको रोकथामका बारेमा स्वास्थ्यविदहरूसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

नेताहरू निजी स्वार्थमा लाग्दा धेरैको ज्यान गयो
डा. सुन्दरमणि दीक्षित
वरिष्ठ चिकित्सक
डेंगु प्रकोपबारे सरकारले ध्यान नदिएकोमा मेरो गम्भीर आपत्ति छ । नेताहरूले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगुले धेरैको ज्यान गइसकेको छ । नेताहरूले विगतमा ओमिक्रोनका बारेमा पनि एक शब्द बोलेनन्, जसका कारण धेरैको ज्यान गयो । यसैगरी, डेंगु पनि भयंकर फैलिइरहेको भए पनि नेता र पार्टी कहींकतै बोलेका छैनन् । उनीहरूको ध्यान खाली गठबन्धन र भागबन्डामा सीमित छ ।
देशका नेताहरू गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित छन् । नेताहरूलाई जनताको स्वास्थ्यबारे चासो र चिन्ता केही छैन । विगतमा पनि कोरोनाले महामारीको रूप लिन्छ है भन्दा हामीहरूमाथि जताततैबाट अट्याक गरिएको थियो । डेंगुले यति गर्दा पनि सरकारले गम्भीरता देखाएको देखिएन । लामखुट्टे मार्ने धूवाँसमेतको प्रयोग सरकारले गरेको छैन । डेंगु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी होइन । स्वास्थ्य मन्त्रालयमातहतका निकायको पनि जिम्मेवारी हो । मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बेलामा सबैलाई राजनीति लागेको छ ।
डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको छ । प्रत्येक दिन चेकजाँच गर्ने १० बिरामीमध्ये २/३ जना डेंगु संक्रमित हुने गरेका छन् । कोरोना भाइरससँग लड्ने क्षमता, प्रतिरोध गर्ने क्षमता बढेकाले कोरोना मत्थर भएको छ । तर, डेंगु एक पटक संक्रमित भएर दोस्रो पटक फेरि भएमा त्यसको रूप झन चर्को हुन्छ । अरू रोग एकपटक लागेपछि रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकाले मत्थर बनाउन सकिने तर यसमा दोस्रो पटक संक्रमण भएमा कडा रूप लिन्छ ।
कोही व्यक्तिमा हुबहु लक्षण डेंगुको भए पनि जाँच गराउँदा डेंगु नदेखिने गरेको छ । त्यसैले यसको पाँचौं भाइ अर्थात् पाचौं भेरियन्ट जन्मेको हो कि भन्ने आशंका लागेको छ । डेंगु संक्रमित गराउने लामखुट्टे मलेरिया गराउने जस्तो नभएको हुनाले बाहिर बस्दा लामो लुगा लगाउन सबैलाई आग्रह छ । यसको उपचार छैन । हालसम्म एउटा भ्याक्सिन मात्र छ र अहिले सबैलाई दिन सकिने स्थिति पनि छैन । एउटा लामखुट्टेले चार–पाँच जनालाई टोकेर संक्रमित गराउने र मलेरियामा जस्तो टोकेपछि चिलाउने यसमा लक्षण देखिँदैन ।
डेंगु संक्रमित लामखुट्टेले टोकेमा ५ वा ६ दिनपछि ज्वरो आउने त्यसको ५/६ दिनमा प्राय: ज्वरो हराउने र ज्वरो ७ दिनभन्दा बढी आएमा खतराको संकेत हुन्छ । सात दिनभन्दा बढी ज्वरो आए, रातो बिमिरा आए र रक्तचाप घट्दै गएमा एकदम खतरनाक अवस्था हो ।
डेंगु जाँचसँगै रगत जाँच्न जरुरी छ । १० दिनभन्दा अगाडि नै बिरामी सिरियस हुने र १० दिनपछि ज्वरो आएमा डेंगु हुँदैन । डेंगुका प्रमुख लक्षणहरू ज्वरो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, वाकवाक लाग्ने, डायरिया हुने हुन् ।

दुई महिनाअघि नै लामखुट्टे नियन्त्रण अभियान नचलाउँदा यो अवस्था आयो
डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ
डेंगु नियन्त्रणमा निराशाजनक अवस्था देखिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था आउने थिएन । एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि त्यति बेलादेखि नै घर–घरमा डेंगु पुगेको महसुस गर्न थालेका हौं । अस्पतालमा डेंगुबाट बिरामी हरेक दिन नढलेको दिनै छैन, मेरो रुम इमर्जेन्सीनजिकै छ, कोभिडको दोस्रो महामारीमा कोभिडका बिरामी जसरी ढल्ने गर्थे त्यही सम्झना आइरहन्छ । जुन साह्रै पीडादायी थियो । लाइनमै बस्न नसकेर मानिसहरू ढल्ने गरेका छन् ।
एक दिनमा ७०/८० जनासम्म डेंगुका बिरामी जाँच्ने गरेको छु । पछिल्लो समय व्यवसायीहरूले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको छ । यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै छ । नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकाले आज यो अवस्था आएको हो । अब पनि पाठ नसिके अझै ठूलो समस्या ननिम्त्याउला भन्न सकिन्न । डेंगुको प्रकोप आममानिसको लुकेको पीडा हो । आफूले काम गर्ने स्थल, विद्यालय, कार्यालय, जहाँ धेरै मानिसहरूको आवातजावत हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टे उत्पादन भइसकेको छ । त्यस्ता ठाउँमा एक–दुई दिन रोकेर भए पनि लामखुट्टे नष्ट गर्न सकियो भने ती लामखुट्टे संक्रमित रहेछन् भने पनि टोक्न पाउँदैनन् । सबैभन्दा पहिला आफू काम गर्ने वा बस्ने स्थानमा लामखुट्टे खोजेर नष्ट गर्नुपर्छ । बाहिर–बाहिर खोज्ने र घरभित्र आए टोक्ने गरे थप संक्रमित हुने सम्भावना देख्छु ।
सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेका छन् । बिरामीको संख्या धेरै हुन सक्ने देखिन्छ । काठमाडौंका हरेक अस्पतालले डेंगु बिरामीको उपचारका लागि सामान्य बेड नपुगेर थप बेड राखेका छन् ।

डेंगु भयावह भयो, सचेत हुनुपर्छ
डा. गरिबदास ठाकुर
सरुवा रोग विशेषज्ञ
डेंगु रोग चार प्रकारको हुन्छ । यसबाट संक्रमित हुन एउटा लामखुट्टे एक व्यक्तिको आवश्यकता पर्छ । डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो रोग लामखुट्टेको टोकाइबाट मात्र संक्रमित हुन्छ । तर, सबै लामखुट्टेले टोक्दैमा संक्रमित हुँदैन । एडिस जातको पोथी लामखुट्टेले टोकेमा मात्र डेंगु महामारी फैलिन्छ । डेंगु महामारी सेप्टेम्बरमा सुरु भएर नोभेम्बरसम्म हुने र बर्सातको सिजनमा धेरै समस्या उत्पन्न गराउने हुन्छ ।
सन् २००४ मा मेरै नेतृत्वमा नेपाल डेंगु प्रभावित राष्ट्रको रूपमा विश्व स्वास्थ्य संगठनमा राख्न सफल भएका हौं । हरेक तीनदेखि चार वर्षमा यसको प्रकोप देखापर्ने गरेको छ । त्यसैले प्रत्येक वर्ष सचेत हुनुपर्छ । अझै तीनदेखि चार वर्षसम्म बेस्सरी सचेत हुनुपर्छ । यसका लागि बजेटको व्यवस्थापन, एक्सपर्टहरूलाई डेंगुको नियन्त्रण गर्ने तालिमको व्यवस्थापन र नियन्त्रणबारे सरकारले विशेष ध्यान दिनुपर्छ ।
डेंगु नियन्त्रणमा पत्रकार, चिकित्सक, स्थानीय सरकार र सरकार तथा पब्लिक सबैको सक्रिय भूमिका बराबर हुन्छ । लामखुट्टेसम्बन्धी प्रकोप नियन्त्रणका लागि १० प्रतिशत हुने एडल्ट लामखुट्टे नियन्त्रण गर्ने र ९० प्रतिशत हुने लामखुट्टेको लार्भा सफा पानीमा बस्न नदिने सबैभन्दा प्रमुख उपाय हो । लार्भाले सफा र अस्थिर पानीमा फुल पार्छ । त्यसैले लामखुट्टेलाई समाप्त पार्न पानी जम्न नदिएमा फुल पार्न सक्दैन । अनि लार्भाबाट बच्न पनि खुला भएका ड्रम र बगेटाहरूलाई छोपेर राख्नुपर्छ । सरकारले ल्याएको खोज र नष्ट गर्ने विधि राम्रो हो । त्यसैले लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । जनचेतना अभिवृद्धि गरेर, सरकारले एक्सपर्टको सल्लाहमा अघि बढेर र बजेटको व्यवस्थापन गरेमा प्रकोप नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्