किरणको कप्तानीमा बंगलादेशसँग खेल्दै नेपाल «

किरणको कप्तानीमा बंगलादेशसँग खेल्दै नेपाल

मंगलबारका लागि तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमबार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रंगशालामा मंगलबार साढे ५ बजे हुनेछ । सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागार्इंसँगै कप्तानका रुपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे ।
पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद् नतिजा दिलाउँदै दसैं विशेष बनाउने सुनाए । प्रशिक्षक हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए । यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।
नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्