४ अर्ब लागतमा ९० किमि सडक कालोपत्रे गरिने «

४ अर्ब लागतमा ९० किमि सडक कालोपत्रे गरिने

नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र थप ९० किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ ।
उपमहानगरपालिकामा सञ्चालन गरिएका कार्यक्रम, योजना र विकासबारे जानकारी गराउँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले यस वर्ष ९० किमि सडक कालोपत्रको काम सुरु गरिएको बताएका छन् ।
उनले उपमहानगरका अधिकांश सडक जीर्ण र खराब भइसकेकाले ९० किमि सडक कालोपत्रे गर्ने योजना सुरु गरिएको हुँदा कतिसम्म पूरा गर्न सकिन्छ त्यो अहिले नै यकिनका साथ भन्न नसकिने बताए ।
नेपालगन्जमा अधुरो सडक, ढल, नालाहरूको पूर्वाधार विकासका लागि एसियाली विकास बैंकबाट क्षेत्रीय सहरी विकास आयोजनामार्फत दोस्रो चरणमा निर्माणका काम हुन लागेको प्रमुख राणाले जानकारी दिए । “दोस्रो चरणमा सडक कालोपत्रे र ढल निर्माणकार्य सुरु भइसकेको छ,” प्रमुख राणाले भने, “त्यसका लागि ३ अर्ब ७१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।”
नेपालगन्जमा ढल, नाली निकासको उचित व्यवस्थापनका लागि यसपटक ४० किमि ढल नाला निर्माण गरिने नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापा मगरले बताइन् । सदरलाइन क्षेत्रमा सडक विस्तारका लागि केही दिनमै अन्तिम सूचना जारी गरिने उनले बताइन ।
उपमहानगरपालिकाले दिएको जानकारी अनुसार जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हालसम्म बसपार्क निर्माणकार्य जारी रहेको, न्यूरोडमा विशाल बजारका लागि डीपीआर बन्दै गरेको, गौशाला र सिटी हल निर्माणका लागि वडा नम्बर १४ मा जग्गा छनोट गरिएको र वैकल्पिक रंगशाला निर्माणका लागि नेपालगन्ज २३ हिरमिनियामा जग्गा खोजिएको छ ।
यसैगरी बागेश्वरी मन्दिर व्यवस्थापन गर्न लागिएको, नगरलाई खुला दिसामुक्त कार्य अघि बढाइएको, काञ्जी हाउसका लागि जग्गा खोजी भइरहेको, नगरका विभिन्न भागमा सीसीटिभी जडान गरी सुरक्षा प्रबन्ध मिलाउन लागिएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख हरि प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्