नेपाली मुद्रा झन् कमजोर «

नेपाली मुद्रा झन् कमजोर

नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो ।
नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण नेपाली रुपैयाँया पनि कमजोर भएको हो । यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।
पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् ।
विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने शुक्रबार ८०.७२ भारू थियो ।
अमेरिकी डलर महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढ्नेछ, जसले गर्दा चाडबाड अगाडि आन्तरिक बजारमा मूल्यवृद्धि हुने डर छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत साउनमा ८.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्