Logo

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

अन्तत: लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । दुवै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।
एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १:१ स्वाप रेसियो हुने गरी मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । तर, बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल हुने मर्जर कमिटीले जनाएको छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने तथा एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने पनि जनाइएको छ ।
एनसीसी बैंक र कुमारी बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने बैंकले जनाएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रहेको छ ।
साथै, गत आर्थिक वर्षको अन्त्यमा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रहेको छ । यसका साथै मर्जरपछि कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्ने पनि बंैकले जनाएका छन् ।
असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार र एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार गरी कुल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएका छन् । यसअघि नै नबिल बैंक तथा नेपाल बंगलादेश बैंकले एकीकृत कारोबार गरिसकेका छन् भने ग्लोबल आइएमई तथा बंैक अफ काठमाण्डू एवं मेगा बंैक तथा नेपाल इन्भेष्टमेण्ट बैंक मर्जरमा गएका छन् । पछिल्लो पुस्ताका सिभिल बैंकलाई हिमालयन बैंकले अनि प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको छ । चालू आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्