बडादसैँमा पुजिने नवदुर्गा «

बडादसैँमा पुजिने नवदुर्गा

बडादसैँ हामी हिन्दूहरूको महान् पर्व हो । असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई लिइन्छ । यो पर्व मातृशक्तिको पूजन हुने एकमात्र प्रमुख पर्व हो । हामी मातृशक्तिका रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई लिन्छौँ । विजयादशमी शक्ति उपासनाको महान् पर्व हो । यस पर्वलाई नवरात्र पनि भनिन्छ । यस नवरात्रमा विभिन्न नवदुर्गाको पूजाअर्चना गरिन्छ । यस अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनहरूको धूमधाम मेला लाग्छ । ती नवदुर्गाको छुट्टाछुट्टै विशेषता एवम् महिमा छन् जसको यहाँ संक्षेपमा चर्चा गरिन्छ ।
शैलपुत्री : विजयादशमीको पहिलो दिन घटस्थापना हो । घटस्थापनाका दिन नदी किनाराबाट बालुवा ल्याई घरको कोठामा वेदी बनाई कलश र दुर्गा स्थापना गरी जौ छरेर जमरा राखिन्छ र विधिपूर्वक पूजाअर्चना गरिन्छ । यस दिन पुजिने देवीको नाम शैलपुत्री हो । शास्त्रमा यिनलाई हिमालय पर्वतकी छोरी शैलपुत्रीका रूपमा उल्लेख गरिएको छ ।
ब्रह्मचारिणी : नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी नामकी देवीको पूजाअर्चना गरिन्छ । शैलपुत्रीकै अर्को नाम ब्रह्मचारिणी हो । सतीदेवीले पार्वती रूप धारण गरेपछि उनले महादेवलाई पाउन पुन: तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । यिनको दाहिने हातमा जपमाल र देबे्र हातमा कमण्डलु रहेको पाइन्छ ।
चन्द्रघण्टा : नवरात्रको तेस्रो दिन पुजिने सिंहमाथि विराजमान देवीको नाम चन्द्रघण्टा हो । यी देवीका पाँच मुख तथा दस हात छन् । चन्द्रघण्टाको सुवर्णमय स्वरूप देखेर दानवहरू डराउने भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । यिनको हातमा घण्टा रहेको छ ।
कुष्माण्डा : आठ हात भएकी, सूर्य मण्डलामा निवास गर्ने, सूर्यझैँ तेज भएकी चौथो दिनमा पुजिने देवीलाई कुष्माण्डा भनिन्छ । उनको अट्टहासमा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने शक्ति भएकाले उनलाई कुष्माण्डा भनिएको हो ।
स्कन्दमाता : पाँचौँ दिनमा पूजाअर्चना गरिने देवीको नाम स्कन्दमाता हो । श्वेत वर्ण, तीन आँखा, चार हात, कमलको फूलमाथि आसन भएकी स्कन्दकी जननी देवी स्कन्दमाताको पूजा पाँचौं दिन भव्य रूपमा गरिन्छ ।
कात्यायनी : नवरात्रको छैटौँ दिन कात्यायनी देवीको भव्य रूपमा पूजाअर्चना गरिन्छ । तीन नेत्र आठ हात भएकी यी देवीको स्वरूप सुवर्णमय छ । कात्यायनीको जन्म कात्यायनबाट भएको अर्थात् देवीमाताले कात्यायनको छोरीको रूपमा जन्म लिएकाले नै यिनको नाम कात्यायनी रहेको हो ।
कालरात्रि : विजयादशमीको साताँै दिन कालरात्रि नामकी देवीको पूजाअर्चना गरिन्छ । कृष्ण वर्ण, गधा वाहन भएकी, तिन नेत्र चार हात भएकी, चारै हातमा क्रमश: तरबार, मसाल, बरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, सास फेर्दा आगो ओकल्ने देवीको पूजा फूलपाती अर्थात् सप्तमीको दिन धूमधामसँग गरिन्छ । यस दिन दसैँघरमा धूमधामसँग फूलपाती भिœयाउने गरिन्छ ।
महागौरी : गोरुमाथि चढ्ने, श्वेतवर्ण, श्वेतवस्त्र धारण गरेकी, तीन आँखा चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको पूजा अष्टमीका दिन भव्य रूपमा गरिन्छ ।
सिद्धिदात्री : नवरात्रको नवौँ वा अन्तिम दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । भगवान् शिवले पनि यिनै देवीको आराधानापश्चात् सिद्धिप्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको हो ।
नवरात्रमा अधिराज्भरका शक्तिपीठहरूमा ठूलो मेला लाग्छ । दक्षिणकाली, मनकामना, भद्रकाली, संकटा, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, छिन्नमस्ता, बालकुमारी, तुलजा भवानी, चण्डेश्वरी, मनमैजु, पुरानो गुह्येश्वरी आदि देवीहरूका मठमन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ । हामी यस अवसरमा घरमा स्थापना गरेका नौवटा दुर्गाको पूजाअर्चना गर्छौं भने विभिन्न शक्तिपीठमा पुगेर देवीमाताको प्रार्थना, पूजाअर्चना पनि गर्छौं ।
विश्वसम्पदा सूचीमा समावेश भएको काठमाडांै हनुमानढोका दरबार क्षेत्रको अति आकर्षक र प्राचीन मन्दिरमध्येको एक मानिने तुुलजा भवानीको मन्दिरमा बडादसैँको नवमीको दिनमात्र सर्वसाधारण श्रद्धालु भक्तजनहरूका लागि खुला गरिन्छ । नवमीका दिन यहाँ तुलजा भवानीको पूजाअर्चना र दर्शन गर्न टाढाटाढाबाट थुप्रै मानिसहरू आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्