Logo

बाह्य तथा आन्तरिक लगानी बढाई पर्यटकीय पूर्वाधार विकासमा जुट्नसमेत तातोपानी गाउँपालिकाले नीतिगत व्यवस्था गर्न आवश्यक छ ।

पर्यटकीय गन्तव्य गिडीदह : आर्थिक समृद्धि र रोजगारीको आयाम

जुम्ला प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ दर्जनौं दह, तालतलैया, पाटन र धार्मिक क्षेत्र छन्; जसको उचित प्रवद्र्धन, प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा सम्भवनाहरू अवसरमा रूपान्तरण हुन सकेका छैनन् ।
संघीयतापछि तीनै तहका सरकारको नजरमा पर्न नसकेको, पत्रकारको क्यामेरामा कैद नभएको, जनप्रतिनिधिका नीतिमा नसमेटिएको र अध्ययन–अनुसन्धानसमेत हुन नसकी गुमनाम रहेको ताल तातोपानी गाउँपालिका–४ स्थित गिडीदह हो । जसले प्रचुर पर्यटकीय सम्भावना बोकेको छ, तर अहिलेसम्म उक्त गिडीदह¬¬को प्रचारप्रसार मात्र नभई प्रवद्र्धनको ठोस नीतिसम्म बन्न सकेको छैन ।
गिडीदह कर्णालीमा रहेका दर्जनौं प्राकृतिक तालमध्येको एक महŒवपूर्ण ताल हो । समुद्री सतहदेखि ३ हजार ४ सय ८२ मिटर उचाइमा अवस्थित गिडीदहको अहिलेसम्म लम्बाइ, चौडाइ र गहिराइ नापिएको छैन । किनभने डेढ दशकअघिसम्म गिडीदहमा महिला जानु हुन्न, त्यहाँ गएका मान्छे फर्किएर आउँदैनन् भन्ने भ्रम फैलाइएको थियो । जसका कारण अहिलेसम्म त्यहाँ कोही पनि पर्यटक पुगेनन् भने प्रचारप्रसार पनि हुन सकेन । त्यहाँ दुईवटा ताल छन्, जुन जुम्लाकै ठूला ताल हुन् ।
आर्थिक समृद्धि र रोजगारी सिर्जनाका नारा तीनै तहका सरकारले लगाइरहे । गिडीदहजस्ता सम्भावनाहरूले लगानी र पूर्वाधार विकास कुरिरहे । तर, हाम्रा नीति तथा कार्यक्रम कागजी घोडाजस्तो र बजेट सधैं अनुत्पादक क्षेत्रमा लगानी हुने प्रवृत्ति हाबी भयो, जसका कारण जुम्लाका प्रचुर पर्यटकीय सम्भावनाहरूबाट अवसर लिन सकेनौं ।
हिमाली भेकमा पाइने कोणधारी जंगलले ढाकिएको उक्त तालले दिनमा सात रंग फेर्ने गरेको छ । त्यहाँ जाँदा भूत लाग्ने भ्रमले समेत अहिलेसम्म कसैले पुग्ने आँट गर्न सकेनन्, जसका कारण गिडीदह ओझेलमा पर्‍यो ।

पहिलो गिडीदह सम्मेलन
गुमनाम गिडीदहको प्रचारप्रसारका लागि तातोपानी गाउँपालिका वडा नंं. ४ को आयोजनामा पहिलो गिडीदह सम्मेलन सम्पन्न भएको छ । १४ बुँदे घोषणापत्र जारी गर्दै गिडीदह सम्मेलन सकियो । गिडीदहको प्रचारप्रसार गर्न जाने रुट पत्ता लगाउन, क्षेत्रफल नाप्न पहिलो पटक १ सयभन्दा बढी जनप्रतिनिधि, कर्मचारी र पत्रकारको टोली असोज ५ गते गिडीदह पुग्यो । दुई दिनको कठिन यात्रापछि असोज ६ गते गिडीदह छेउमै सम्मेलन भयो ।
गिडीदहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसारमा जोड दिनुपर्ने, छोटो फूलचौँल्या पाटनदेखि गिडीदहसम्मको छोटो पदमार्ग निर्माण, दहवरिपोरी घोडेटो बाटो निर्माण, दहको क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्नुपर्ने, बाह्य आन्तरिक लगानी जुटाई पूर्वाधार विकास गरी पर्यटक भिœयाउनुपर्ने कुरालाई सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गरी औंल्याएको छ ।
१४ बुँदे घोषणापत्र जारी गर्र्दै तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पाँच वर्षभित्र गिडीदहमा पर्यटक भिœयाउने वातावरण सिर्जना गरिने बताए । उनले भने, “साबिक कर्णालीको रारा र शे–फोक्सुन्डो पछिको ठूलो गिडीदह (ताल) लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गरिनेछ । चाँडै तालको लम्बाइ, चौडाइ र गहिराइ नाप्न पहल गरिनेछ । पहिलो पटक गिडीदहमा पुग्दा आर्थिक समृद्धि, नमुना पालिका निर्माण र रोजगारी सिर्जनाका हिसाबले गिडीदह कोसेढुंगा बन्ने सम्भावना देखियो । अब लगानी बढाउनुपर्छ ।”
गिडीदहलगायतका दह र पाटनहरूको विकासका लागि डिपिआर तयार गरिने भएको छ । सामाजिक भ्रम र सोचेको भन्दा पनि फरक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना भएकाले गिडीदहलाई पर्यटकीय हब बनाउन संघ, प्रदेशसँग लगानी जुटाउन पहल गर्नुका साथै आगामी पाँच वर्षमा स्थानीय तहको बजेटमा विशेष जोड दिइनेसमेत अध्यक्ष चौलागाईंको भनाइ छ ।
पर्यटक आकर्षणका लागि न पूर्वाधार छ, न त त्यहाँ पुग्ने सहज गोरेटोबाटो । जंगलको झार पन्छाउँदै नयाँ रुट पत्ता लगाउँदै पहिलो पटक सरकारी टोली गिडीदह पुगेको हो । गिडीतालको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त सम्भावना रहेको तातोपानीका उपाध्यक्ष सीमा रावलले बताइन् । उनले भनिन्, “घना जंगलको बीचमा रहेको यो ताल सामाजिक भ्रम र सरकारी नीतिको अभावले ओझेलमा परेकाले संरक्षणका लागि ४ नम्बर वडाबाट गरिएको पहल स्वागतयोग्य छ ।”
प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले पालिकाको अर्थतन्त्र उकास्ने र सयौं नागरिकलाई रोजगारी दिने सम्भावना गिडीदहमा देखिएको बताए । उनका अनुसार गिडीखोलादेखि फूलचौँल्यासम्म सडक निर्माण, ठाउँठाउँमा धर्मशाला निर्माण र छोटो पदमार्ग निर्माण गर्न जरुरी रहेको छ भने तत्काल पूर्वाधार निर्माणका लागि डिपिआर तथा वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाइने भएको छ ।
लेखक तथा साहित्यकार खडानन्द चौलागाईंले नेपालका भू–गर्भविद् डा. हर्क गुरुङले जुम्लाका सबै क्षेत्रको भ्रमण अवलोकन गरे पनि गिडीदहको अध्ययन–अनुसन्धान गर्न नसकेको बताए । उनले भने, “भौगोलिक विकटता र भ्रमले डा. गुरुङ गिडीदह पुग्न सकेनन् । डा. गुरुङको ‘मैले देखेको नेपाल’ नामक पुस्तकमा जुम्लाका सबै विषयमा लेखिएको छ । तर, गिडीदह गुमनाम छ । पालिकाले पहिलो पटक गिडीदहको पहिचान र प्रचारका लागि गरेको काम सराहनीय छ ।”

गिडीदहका लागि चार दिनको यात्रा
पहिलो पटक गिडीदह पुगेको सरकारी टोलीले गिडीदहलगायत विभिन्न पाटनको अवलोकन गर्न चार दिन लगाएर फर्किएको छ । पहिलो दिन असोज ४ गते तातोपानी–४ हाँकुबाट गएको टोली साँझ फूलचौँल्या पाटन पुग्यो । दोस्रो दिन असोज ५ गते बिहानै हिँडेर नयाँ रुट पत्ता लगाउँदै लामाचौर पाटन, सानी पाटन हुँदै जंगल छिचोल्दै गिडीदह पुगियो । तेस्रो दिन असोज ६ गत गिडीदह सम्मेलन गरी ११ बजे हिँडी पुन: साँझ फूलचौँल्या पाटनमा बास भयो भने चौथो दिन आफ्नो गन्तव्यमा फर्कियो । यसरी हेर्दा पर्यटकीय गन्तव्य गिडीदह यात्रा गर्न चार दिन लाग्ने देखिन्छ ।
यद्यपि सडक विस्तार भएको खण्डमा तीन दिन लाग्ने देखिन्छ भने तत्काल गिडीखोला गाउँदेखि फूलचौँल्यासम्म सडक र फूलचौँल्यादेखि गिडीदहसम्म छोटो नयाँ पदमार्ग निर्माण गरेमा गिडीदह भ्रमण अवलोकन गर्न सहज रूपमा चार दिन लाग्छ । हाल बस्ने बासको उचित व्यवस्था र सहज बाटोसमेत छैन । फूलचौँल्या, कालिका मिन्दर, लामाचौर पाटन, सानी पाटनजस्ता क्षेत्रमा बासस्थान तथा पदमार्ग निर्माण भएको खण्डमा अबको पाँच वर्षमा गिडीदहमा पर्यटकहरूको घुइँचो लाग्ने निश्चित छ ।
तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले ऐतिहासिक गिडीदह सम्मेलनले तातोपानी समृद्धिको ढोका खुलेको बताए । “जुम्लाकै ठूलो ताल ओझेलमा थियो,” उनले भने, “आर्थिक समृद्धि र रोजगारी सिर्जनाको आधार बन्ने सम्भावना गिडीदह र यहाँका पाटनमा छन् । लगानीको अभाव छ । चालू आवमा गिडीदह सम्मेलनका लागि पालिकाबाट २ लाख छुट्ट्याइएको थियो । अब जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा गिडीदहलाई विकास गरिनेछ ।” गिडीदह जंगलभित्र झन्डै दुई दर्जन प्रजातिका वन्यजन्तु र विभिन्न लोपोन्मुख पन्छीहरूसमेत पाइने वडाध्यक्ष रोकाया बताउँछन् ।
“गिडीदह कर्णाली प्रदेशको प्रख्यात ताल हो । तर, प्रचारप्रसारको अभावले लुकेको अवस्थामा छ,” वडाध्यक्ष रोकायाले भने, “सम्मेलनले दहको पर्यटन प्रवद्र्धनका लागि ठोस कार्ययोजना बनाउन सहयोग पुग्नेछ ।” वडा कार्यालयले गिडीदहसम्म जाने बाटोको अवस्था अध्ययन गर्ने र होर्डिङ बोर्ड राख्ने काम गरेको छ । हाँकुबाट हिँडेर गिडीखोला, भाडु, रातामाटा हुँदै बेलुका फूलचौँल्या पाटनमा तामाचौर, ऐरीजौल गैरीगुम हुँदै गिडीतालको अवलोकन सकिएको छ ।

पर्यटकीय सम्भावना : दर्जनौं पाटन र दह
गिडी ताल सम्मेलन २०७९ असोज ४ देखि ६ द्वारा जारी घोषणापत्रमा गिडीदह (ताल) मात्र नभई दर्जनांै पाटन र दहका हिसाबले प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँका रूपमा प्रचलित छ । गिडीखोला गाउँको सिरानमा अवस्थित गिडीदह र त्यस दहको वरिपरि रहेका पानसय पाटन तथा पाटनहरूमा अवस्थित रमणीय दह, धार्मिक स्थल, जडीबुटी, वनस्पति, जनावर तथा पन्छीहरूले पर्यटन गतिविधि बढाएका छन् ।
गिडीताल पर्यटन क्षेत्रअन्तर्गत पर्ने फूलचौँल्या पाटन लामाचौर पाटन, ढांग्रे, भ्याउन्या खर्क, गैरीगुम, ऐरीजाल, भदाल्या, गाडखर्क, खानी, माझपाटन, बजेडी, लसुनबारी, ठाकुरज्यू, विष्टज्यू, नाना हाँक, ठूला हाँंक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौडलगायतका पाटन क्षेत्र रहेका छन् ।
साथै गिडी ताल पर्यटन क्षेत्रमा धार्मिक क्षेत्रहरू भुरीचुला, ठाकुरज्यू, विष्टज्यू, गणेशथान, देउता, निस्केका गैरा, नाचल ढुंगी, महादेव मष्टो देवतालगायतका धार्मिक क्षेत्र छन् भने गिडी ताल पर्यटन क्षेत्रअन्तर्गत पर्ने जोगिनी दह, विष्टज्यू दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह छन् । यी पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू लगानी कुरिरहेका छन् ।
विभिन्न जडीबुटीसँगै कस्तूरी, रेडपाण्डा, घोरल, थार, झारल, ब्वाँसो, बाघ, भालुलगायतका मृग र डाँफे, कालिज, फग्रास, चील, गिद्व, च्याखुरालगायतका पन्छीहरूसमेत त्यस क्षेत्रमा रहेकाले आक्षरण क्षेत्रका रूपमा विकास गरिनुपर्ने बहस थालिएको छ । गिडीदहकै पानीले आसपासका बस्ती हराभरा छन् । गिडीखोलाको पानीबाट निकालिएको बत्तीले गाउँहरू झिलीमिली भएका छन् । त्यही खोलाको मुहानको रूपमा रहेको गिडीताल संरक्षणमा कसैको चासो गएको थिएन् । तर, तातोपानी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै गिडीदह पर्यटन प्रवद्र्धनको प्रयास सुरु भएको छ ।

छोटो रूट निर्माणमा जोड
सम्मेलनका लागि गएको सरकारी टोलीले गिडीदह पुग्न चार दिन लगायो । गिडीदहमा पुग्दा ताल अवलोकन गर्ने बाटोसमेत थिएन । प्रचारप्रसार तथा पर्यटकीय गतिविधि नभएरै होला, गिडीदहमा सहज बाटोको पहुँच छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा पर्यटक आउजाउमा समेत समस्या छ ।
गिडीदहको चारैतिर जंगल र उत्तर दिशामा कडा चट्टान छ । तालसम्म पुग्ने गोरेटो बाटोसमेत छैन भने तालवरिपरि समेत घना जंगल छ, जसका कारण तालको क्षेत्रफल अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।
सम्मेलनमा सहभागी लेखक खडानन्द चौलागाईं, बुद्धिजीवि शिवशंकर चौलागाईं, पूर्णप्रसाद न्यौपाने, पर्यटन व्यवसायी शिव बूढा, वीरेन्द्र बूढा, नारायणी चौलागाईंलगायतका व्यक्तिले पालिकाको मात्र नभई जिल्लाकै आर्थिक समृद्धि र रोजगारी सिर्जनाको एकमात्र अस्त्र गिडीदह बन्न सक्ने भएकाले पूर्वाधार विकास तथा प्रचारप्रसार र छोटो रुट निर्माणमा जोड दिनुपर्ने सुझाव दिए । तत्काल तालको क्षेत्रफल पत्ता लगाउन समेत माग गरिएको छ ।
पर्यटकको सहज आगमन तथा तालको क्षेत्रफल पत्ता लगाउन वरिपरि गोरेटो बाटो निर्माण तथा फूलचौँल्यादेखि गिडीदहसम्म छोटो पदमार्ग निर्माण प्रक्रियाको पहल गरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनका अनुसार पूर्वाधार विकासबिना पर्यटन प्रवद्र्धन सम्भव नभएकाले आर्थिक समृद्धि भिœयाउन रोजगारी सिर्जना गर्न लगानी भिœयाउने वातावरण तय गर्नुपर्नेछ ।
त्यस्तै तालको रोचकतालाई बयान गर्दै स्थानीय दुर्गाप्रसाद पाण्डेले भने, “सयौ वर्षपहिला सिकार खेल्न गएका मान्छेहरू गिडीदह किनारमा बसेका थिए । आफू बसेको मुनितिर दह रहेको र बरफ जमेको माथि आफू बसेका छांै भन्ने कुरा उनीहरूलाई हेक्का थिएन । आगो बल्दै जाँदा बरफ पग्लेर सबै सिकारी त्यहीं डुबेर मरेको कथन छ । त्यसपछि त्यहाँ जान छोडिएको थियो ।” आफू पाटनमा घोडी खोज्ने क्रममा २०४८–४९ सालमा तालमा पुगेको उनको भनाइ छ ।
दह, पाटन क्षेत्र पवित्र धार्मिक स्थल, जडीबुटी, वनस्पति, जंगली जनावर तथा पन्छीको अवस्थाका बारेमा प्रचारप्रसार गरी गिडी ताल क्षेत्रको महŒवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उजागर गर्न आवश्यक छ ।
गिडीदहको पर्यटन प्रवद्र्धन गरी पालिकाकै आर्थिक समृद्धि र बेरोजगारी अन्त्य हुने अपेक्षा गरिएको छ । बाह्य तथा आन्तरिक लगानी बढाई पर्यटकीय पूर्वाधार विकासमा जुट्नसमेत तातोपानी गाउँपालिकाले नीतिगत व्यवस्था गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्