आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि आठबिसकोट नगरपालिका लागि छुट्टै नापी र मालपोत कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले आठबिसकोटमा आयोजित एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले संविधान कार्यान्वयनका लागि राज्य सेवाको विकेन्द्रीकरण गर्नुपर्ने बताए । संघीयताको मूल विषय भनेकै सेवाको विकेन्द्रीकरण भएको भन्दै उनले राज्य स्रोतलाई स्थानीय तहसम्म पुर्याउने र नागरिकहरू आत्मनिर्भर बन्नसके मात्र संघीयता कार्यान्वयन भएको महसुस हुने बताए । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका जनतालाई स्थानीय सरकार र संघीयता आएको महसुस गराउन पालिकामै नापी र मालपोत कार्यालय स्थापना गरिएको उनको भनाइ छ । कार्यक्रमलाई बोल्दै आठबिसकोट नगरपालिकाका प्रमुख रवी केसीले जनतालाई सजिलो होस् भनेर नापी र मालपोत कार्यालय सदरमुकामबाहिर पहिलो पटक आठबिसकोटमा ल्याइएको बताए ।
आठबिसकोट कार्यालयमा आइतरबाटै नापीमा तुलसीराम भुसाल र मालपोत कार्यालयमा निलध्वज पाण्डेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन । रुकुम पश्चिम सदरमुकाम मुसीकोटमा जिल्ला नापी तथा मालपोत कार्यालय रहे पनि आठबिसकोटका नागरिकलाई अपायक पर्ने गरेको थियो । १७ चैत २०७८ को मन्त्रीस्तरीय बैठकले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो । पालिकामा नापी र मालपोत कार्यालय सञ्चालनमा आएपछि नागरिकहरू खुसी भएका छन् ।