Logo

म्याग्दीमा बिरामी बोक्ने एम्बुलेन्स नै थन्किए

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्स नै थन्किएर बसेका छन् । म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पताल परिसरमा दुईवटा एम्बुलेन्स अहिले मर्मत सम्भार अभावले जीर्ण बनेर थन्किबिरामीशाखालाई हस्तान्तरण गरिएको थियो । एम्बुलेन्सको मर्मत र सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि जिल्ला शाखालाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा भुरुङ–तातोपानीका सभापति विष्णुकुमारी गर्बुजाले बताइन् । उक्त एम्बुलेन्सलाई जिल्ला शाखाले समेत सञ्चालन गर्ने अवस्था नरहेपछि अहिले अलपत्र परेको छ । बेनी अस्पतालको एम्बुलेन्स तीन वर्षअघि देखि नै बिग्रिएर जीर्ण अवस्थामा पुगेको छ । मर्मत सम्भार गरेर सञ्चालन गर्ने अवस्थामा समेत नरहेपछि उक्त एम्बुलेन्स झाडीले ढाकिएको अवस्थामा छ ।
मोना यूकेले उपहार दिएको अर्को एम्बुलेन्स भने मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा देखिन्छ । खर्चिलो र पटक पटक बिग्रिन थालेपछि मर्मत र सञ्चालन खर्च धान्न नसक्ने भएपछि उक्त एम्बुलेन्सलाई सञ्चालन बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताए । ‘‘रेडक्रस मातहत अर्को एक एम्बुलेन्स सञ्चालनमै रहेको छ, उक्त एम्बुलेन्समार्फत भरसक उत्कृष्ट सेवा दिने प्रयास गरेका छौँ,” उनले भने । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणको स्वास्थ्योपचार सेवामा सहज पहुँच बढाउन मोना यूकेले वि.सं २०६९ मा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखालाई तीनवटा एम्बुलेन्स सहयोग गरेको थियो । त्यसमध्ये जिल्ला शाखा मातहत सञ्चालनमा रहेको एक एम्बुलेन्स दुई वर्ष अघिदेखि नै बिग्रिएर प्रयोगविहीन बनेको छ । मोना यूकेले दिएको तीन एम्बुलेन्समध्ये अहिले एउटामात्रै सञ्चालनमा रहेको छ । दरबाङ उपशाखामार्फत सञ्चालन हुँदै आएको मोना यूकेको थप अर्को एम्बुलेन्स हाल मालिका गाउँपालिका मातहत सञ्चालन र खर्च बेहोर्दै आएको छ ।
म्याग्दीमा हाल पाँचवटा मात्रै एम्बुलेन्स सञ्चालनमा छन् । काठमाडांैस्थित भारतीय दूतावासले वि.सं २०७४ मा रेडक्रस सोसाईटी जिल्ला शाखा र अन्नपूर्ण गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । दूतावासले दिएको दुई एम्बुलेन्ससहित बेनी अस्पतालको एक, धवलागिरि गाउँपालिकाको एक र मालिका गाउँपालिका मातहत सञ्चालित एक गरी जम्मा पाँचवटा एम्बुलेन्सले मात्रै सेवा दिँदै आएका छन् । सदरमुकाम बेनीबाट सेवा दिने बेनी अस्पताल र रेडक्रस सोसाईटी मातहतका दुवै एम्बुलेन्ससमेत जीर्ण अवस्थामा पुग्न थालेको र बिरामीहरूले आफूहरूले भनेको समयमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । बेनी अस्पतालको एम्बुलेन्स चलाउँदै आएका चालक गोपी गौतमले १६ मोडलको गाडी भएको र पटक पटक समस्या आउने र गाडीको वायरिङको समस्या भएकाले हरेक पटक बेनी–पोखरा आवतजावत गर्दा मर्मत गरिरहनुपर्ने झण्झट रहेको बताए । एम्बुलेन्सहरू पनि जिल्लाको ग्रामीण भेगमा पुग्न सक्ने अवस्थामा नरहेकाले जिल्लामा सवारी दुर्घटना तथा सर्वसाधारण नागरिक बिरामी पर्दा निजी बोलेरोसँंगै जिप, ट्याक्सीलगायतका साधनको भर पर्नुपर्ने बाध्यता छ । बेनीदेखि थप उपचारका लागि पोखरा, काठमाडांै लैजानुपर्ने बिरामीलाई एम्बुलेन्स अभावमा पटक पटक जोखिम मोलेर अन्य सवारी साधनबाट लैजानुपर्ने बाध्यता रहँदै आएको छ । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै वडामा कच्ची सडक सञ्जालले जोडिएको छ । तर, आपदविपद्को समयमा ती सडकमा एम्बुलेन्स पुग्दैनन् । सडकको अवस्था जीर्ण र एम्बुलेन्सको अवस्था नाजुक बनेपछि सर्वसाधारणले उपचारका लागि एम्बुलेन्सको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै आएका छन् ।

कहाँ परिचालन हुन्छ अक्षय कोष ?
म्याग्दीमा एम्बुलेन्स सेवा सञ्चालनका लागि तीनवटा एम्बुलेन्स सहयोग गरेको मोना यूकेले करिब ११ लाखको अक्षय कोषसमेत स्थापना गरेको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले वि.सं २०७१ मा १० लाख ८० हजार २ सय ८० को एम्बुलेन्स सेवा अक्षय कोष स्थापना गरेको थियो । उक्त अक्षय कोषको रकमलाई ग्रिन डेभलपमेन्ट बैंकको बेनी शाखामा राखिएको र कोषको व्याज रकमबाट एम्बुलेन्सको बिमा खर्च भुक्तानी गरिँदै आइएको रेडक्रस जिल्ला शाखाका सभापति हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्