Logo

काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने श्रमिकको चेतावनी

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाड लक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने मागअघि सारेको छ । स्वरोजगार श्रमिकहरुको व्यवस्थापनको लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ ।
यसैगरी, चाडवाड लक्षित गरेर अल्पकालिन रुपमा बिहान बेलुकीको निश्चित् समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरु फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।
स्वरोजगार श्रमजीवीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानी नै सिध्याइ दिनेगरी सामान नियन्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ । त्यस्तै, श्रम डेस्कको स्थापना गरी आफ्ना पालिका भित्रका श्रमसम्बन्धी विषयलाई व्यवस्थित गरी श्रमिकहरुको आवश्यक सूचिकरणलगायतका श्रम व्यवस्थापनसँग सम्बन्धित कामको थालनी गर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्