Logo

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको माग

चन्दननाथ नगरपालिका ५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । विकले चुनावी प्रचार–प्रसार गरिन् । मनोनयन दर्ताका दिनसम्म पनि नाम यथावत् थियो । तर, मनोनयन दर्ताकै बेला भने हज्जामा विकको नाम उम्मेदवारबाट हटाइएको थियो । त्यसका दुई कारण थिए, पहिलो, ‘महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता” र दोस्रो महिलालाई नेतृत्वमा पुराउनु हुदैन् भन्ने पुरुषबादी सोच’ ले हज्मालाई वडाध्यक्षको उम्मेदवारबाट पाँखा लगाइयो ।
त्यस्तै २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजबादी पार्टीले चन्दननाथ ६ निवासी जयलक्ष्मी चौलागाईंलाई चन्दननाथ नगरपालिकाको मेयरको टिकट दियो । उनले पनि व्यापक प्रचार प्रसार गरी युवा नेतृ राजनीतिमा आउने कुराले माहोव निकै तातिएको थियो । अन्तत: समाजबादीले नगरपालिका स्वतन्त्र मेयरसंग चुनावी तालमेल गर्ने सहमतीपछि मेयरपदबाट चौलागाईंलाई खुस्काइयो ।
साथै तिला गाउँपालिकाकी पूर्वउपाध्यक्ष विष्णुमाया बुढा, पातारासीका पूर्वउपाध्यक्ष पुन्नकली महतारा निर्वाचनमा अध्यक्षभन्दा पनि बढी भोट ल्याउँदा पनि पार्टीले प्रमुख पदमा स्वीकार नगरेको अनुभव सुनाउँछन् ।
तिलाकी पूर्वउपाध्यक्ष बुढाले अध्यक्षका पदका उम्मेदवार भन्दा बढी भोट ल्याएर जितिन् । अध्यक्ष पदका उम्मेदवारले हारे । सहायक पदमा महिलालाई कारिन्दाका रुपमा हेर्ने प्रबृत्तिका कारण महिला नेतृत्वमा जान नसकेको भन्दै अबको चुनावमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने जुम्ली महिलाको माग छ ।
नेपालको संविधानको धारा २६९ (४) को (ग)मा दलका विभिन्न तहका कार्यकारी पद र समितिमा समावेशीताको सिद्धान्तलाई कार्यान्वयन गर्दै महिलाको अर्थपूर्ण सहभागिता गराउनु पर्ने व्यवस्था छ । तर, कार्यान्वयनमा शून्य देखिन्छ । ०७४ को चुनावमा चन्दननाथको मेयर बाहेक सातै पालिकामा पुरुष प्रमुख थिए । ०७९ को निर्वाचनबाट पनि जुम्लाका आठै तह र ६० वटै वडामा पुरुषनै विजयी भएका छन् ।
सोमबार जुम्लामा क्रियाशील महिला पत्रकार संघद्वारा आयोजित ‘निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता’ सम्बन्धी कार्यक्रममा चन्दननाथ ५ निवासी हज्मा विकले भनिन्,“म महिला भएकै कारण ०७४ निर्वाचनमा अन्तिम समयमा पार्टीले नाम हटायो । त्यस्तै सबै पार्टीमा चाहेर पनि महिला प्रमुख पदमा पुग्न सकेका छैनन् । पुरुषबादी चिन्तन भएका नेतृत्वसँग महिलाको नेतृत्व विकासका अब महिला एकजुट बहस गर्नुपर्छ ।”
माओवादीकी महिला नेतृ विष्णुमाया बुढा, समाजवादीकी नारायणी चौलागाई,काँग्रेसकी पुन्नकली महतारा, समाजवादीकै जलयलक्ष्मी चौलागाईंलगायतका महिला नेतृले निर्वाचनमा मात्र नभई विकास निर्माण,शिक्षा,स्वास्थ्य रोजगारका क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि नेतृत्वको पुरुषबादी चिन्तनको अन्त्य गर्न महिला आर्थिक, तथा शैक्षिक र चेतनाका दृष्टिले सक्षम बन्नुपर्नेमा जोड दिएका छन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्लामा प्रत्यक्षतर्फबाट महिला उम्मेदवारको नाम सिफारिस हुनुपर्ने उनिहरूको माग छ । पैसा र पावर हुने मात्र नेतृत्वमा जाने, क्षामतावान, केही गर्न सक्ने महिला सधै घरमा सिमित हुने र नेतृत्वले समेत महिलालाई दासी सम्झने प्रबृत्तिको अन्त्य गर्नुपर्ने महिला नेतृ विष्णुमाया बुढाले बताइन् ।
मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका लागि जुम्लाका सबै पार्टीले प्रत्यक्ष तर्फ पुरुषको मात्र नाम सिफारिस गरेका छन् । महिला सबै समानुपातिकमा सिमित छन् । जिल्लाबाट सिफारिस भएपछि महिला बन्द सूचीमा पर्ने सम्भावनानै छैन् ।
चन्दनाथ–५ की महिला सीता बुढाले भनिन्, “महिलालाई प्रमुख नेताका रुपमा स्वीकार गर्ने मानसिकताको विकास भएको छैन् । संविधानको समावेशीता ठूला नेताको खल्तीमा छ । पार्टीका प्रमुखलाई घचघच्याउन जरुरी छ । महिलाको एकता बिना महिला नेतृत्वमा जाने स्थिति छैन् । अब चुप लागेर हैन अधिकार खोस्नका लागि बहस गर्नुपर्छ ।”
क्रियाशिल महिला पत्रकार संघ जुम्लाका अध्यक्ष दिलमाया शाहीले महिलालाई जनताले पत्याउने तर पार्टीले नपत्याउने समस्या देखिएको बताइन् । उनले भनिन्, “चुनावमा पुरुषभन्दा महिलाले उम्मेदवारले बढी भोट ल्याएका उदाहरण छन् । तर, पार्टीले महिलालाई प्रमुख पदमा भने पुराउनै चाहाँदैन् । पृतिसत्तात्मक सोचका विरुद्ध महिला एकजुट हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्