दक्षिण कोरियामा फक्सवागनको बिक्री सुचारु «

दक्षिण कोरियामा फक्सवागनको बिक्री सुचारु

बिहीबार पासाट सेडानको लन्च गरेर फक्सवागन ग्रुपले दक्षिण कोरियामा सवारी बिक्री पुनः सुरु गरेको छ । ‘डिजेल गेट’ प्रदूषण छली काण्डपछि डेढ वर्षसम्म रोकिएको बिक्री पुनः सुचारु भएको हो ।
जर्मन कार निर्माताले पासाट, टिगुवान एसयुभी र अर्टिअन लगायतका तीनवटा मोडलको बिक्री पुनः थाल्ने योजना बनाएको कम्पनीका प्रवक्ताले बताइन् ।
“कोरियाली बजारमा पासाट सेडानको बिक्री पुनः सुरु गर्ने विषयमा वातावरण तथा यातायात मन्त्रालयले स्वीकृति दिएको छ । बिक्रीका लागि सबै मापदण्ड पूरा गरेकाले बिक्री पुनः सुरु हुन लागेको हो,” उनले बताइन् ।
अउडी फक्सवागन कोरियाले पासाट सेडानको अर्डर प्राप्त गर्न थालेको छ । यो सवारी मार्चको अन्त्यदेखि आपूर्ति सुरु हुने प्रवक्ताले बताइन् ।
यो पासाटको मूल्य ४ करोड ३२ लाखदेखि ५ करोड २९ लाख वन अर्थात् ४० हजार ४ सयदेखि ४९ हजार ५ सय डलर पर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
जर्मन कार निर्माताले यसै वर्षदेखि कोरियाली बजारमा अउडी सवारी लन्च गर्ने योजना पनि बनाएको छ ।
सोल सरकारले सबै अउडी र फक्सवागन कारको बिक्रीमा प्रतिबन्ध लगाउने र प्रदूषण छलीको विषयमा भारी परिमाणमा जरिवाना लगाउने बताएपछि फक्सवागन ग्रुपले स्वेच्छिक रूपमा २०१६ को जुलाईमा आफ्ना सबै सवारीको बिक्री रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्