होटल संघ नेपालको साधारणसभा सम्पन्न

होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपाल: ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए । मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी तवरबाट हुन सक्ने सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
होटल संघ नेपालका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको बताउँदै होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमा नै व्यवस्था हुन आग्रह गरिन् ।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेदजस्ता महत्वपूर्ण विषयहरुबारे उल्लेख गरे । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले कोभिडका समयमा होटल उद्योगको संरक्षणका लागि एकीकृत सम्पत्ति कर मा भारी छुट दिइएको बताउँदै यस आर्थिक वर्षका लागि ४० प्रतिशत र समयसीमामार कर बुझाएमा अर्को १० प्रतिशत गरी ५० प्रतिशत सम्पत्ति कर छुट दिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख नन्दिनी लाहे थापाले विस्तारै अघि बढ्दै गरेको पर्यटन उद्योगलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी विदेशी पाहुनालाई नेपाल भित्र्याउने बताइन् । उनले होटल संघ नेपालद्वारा प्रकाशित पुस्तकले पर्यटकहरुलाई नेपाल घुम्न सहज हुने बताइन् ।
सोही दिन विनस्टल्क एसियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रष्ठले यस किसिमको कन्क्लेभले भोलिका दिनमा अगाडि बढ्न सहयोग पुग्ने बताए । उनले होटल संघ नेपालद्वारा समय समयमा प्रस्तुत हुने सुझावहरुप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको बताए ।