Logo

गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो: भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए । उनले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए । उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभई नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानुन नबनाउँदा बुटी भइरहेको बताए । अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे ।
अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे । उनले छिपछिपे र टापटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे । अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्