मेलम्चीको पानी मंसिर पहिलो साता आउने दाबी «

मेलम्चीको पानी मंसिर पहिलो साता आउने दाबी

फाइल तस्बिर।

सरकारले आगामी १ मंसिरभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई ख्वाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनमा मतदातालाई सकरात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठूलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो ।
तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा–धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको छ । मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएहो हो ।
वर्षा हुने क्रम अझै नरोकिएपछि अध्ययनका लागि कार्यक्षेत्र जान र अनुगमनको कार्य प्रभावित भएको बताउँछन् मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त । “अहिले वर्षा सकिएको छैन, बाटो अवरुद्ध भएका कारण फिल्ड जान पनि कठिन छ । अब वर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमामार्फत ल्याई वितरण थाल्ने योजना छ,” उनले थपे, “हेड वक्र्ससम्म पुग्ने बाटो निर्माणको प्रक्रियामा छ, निर्माण सम्पन्न भएपछि काम अगाडि बढाउन सजिलो हुनेछ । फेरि तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम पनि टरेको छैन ।”
बाढी–पहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवक्र्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । आयोजनाका अनुसार एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको भौगर्भिक अवस्थाबारे अध्ययन गरेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु गर्नुपर्ने अवस्था पनि छ । तर, सरकारले वजेट वक्तव्यमार्फत मेलम्ची खानेपानी विकास खारेज गर्ने निर्णय गरेकाले आयोजना कसरी र कसले अघि बढाउने भन्ने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्