Logo

दुई महिनामै सवा १५ अर्बले घट्यो निर्यात

भारत निकासी हुने मुख्य वस्तुको व्यापारमा गिरावट आएसँगै नेपालको निर्यात व्यापार ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा अघिल्लो आवको पहिलो दुई महिनाको तुलनामा सवा १५ अर्बले निर्यात घटेको छ ।
यससँगै कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.२८ प्रतिशत रहेकोमा चालू वर्षको भदौसम्ममा ९.४९ प्रतिशतमा सीमित भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा कुल २८ अर्ब ६८ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको छ । अघिल्लो आवमा ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँको वस्तु निकासी भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवको निकासी ३४.८८ प्रतिशतले कम हो ।
विभागका अनुसार नेपालको मुख्य व्यापारिक साझेदार मुलुक भारततर्फको निकासीमा धेरै गिरावट आएको छ । अघिल्लो आवको पहिलो दुई महिनामा भारततर्फ ३६ अर्ब १७ करोड ४३ लाख रुपैयाँ बराबरका वस्तु निकासी गरेको नेपालले चालू आवको भदौसम्ममा भने १९ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबरको वस्तुमात्र निर्यात गर्न सकेको छ । भारतसँगको व्यापारमा निर्यातसँगै आयात पनि घटेको छ । सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण भारतबाट आयात घटेको हो । अघिल्लो आवमा भारतबाट १ खर्ब ८७ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने चालू आवको भदौसम्ममा १ खर्ब ६९ अर्ब ६५ करोडको मात्र वस्तु आयात भएको छ ।
अघिल्लो आवको भदौसम्ममा भारततर्फ १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँ बराबरको सोयाबिन आयल निकासी भएकोमा चालू आवको सोही अवधिमा भने १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, पाम आयल अघिल्लो आवमा ७ अर्ब ५० करोड ६१ लाख रुपैयाँ बराबरको निकासी भएकोमा चालू आवमा ५ अर्ब ६९ करोड ४५ लाख रुपैयाँको निकासी भएको छ । सनफ्लावर आयल निकासी अघिल्लो आवमा १ अर्ब ४५ करोड ८९ लाख रहेकोमा चालू आवमा १२ करोड ३३ लाखमा सीमित भएको छ । अघिल्लो आवको कुल निकासीमा यी तीन वस्तुको हिस्सा ४३ प्रतिशत रहेको थियो ।
नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल सोयाबिन आयल, पाम आयल र सनफ्लावर आयलको मूल्य नेपालभन्दा भारतमै सस्तो पर्न थालेपछि निकासी घटेको बताउँछन् । भारतले ६ महिनाअघि करको दर हेरफेर गर्दै तेलको कच्चा पदार्थ आयातमा भन्सारदर शून्य र जीएसटी ५ प्रतिशतमात्र लगाएको छ । अध्यक्ष अग्रवालका अनुसार नेपालमा कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्छ । नेपालका चाउचाउ, बिस्कुट जस्ता उद्योगलाई समेत भारतबाटै तेल ल्याउन बजेटले बाटो खोलिदिएकाले स्वदेशी उद्योगहरु सबैजसो बन्द हुने स्थितिमा रहेको उनी बताउँछन् ।

बक्समा
व्यापार घाटामा कमी

सरकारले आयातमा प्रतिबन्ध लगाएसँगै आयातमा कमी आउँदा व्यापार घाटामा पनि गिरावट देखिएको छ । विभागका अनुसार भदौसम्ममा आयातमा १३.०१ प्रतिशतले कमी आएको छ भने व्यापार घाटा पनि ९.४५ प्रतिशतले घटेको छ । भदौसम्ममा कुल वैदेशिक व्यापारमा नै १५.७ प्रतिशतले गिरावट आएको छ । यो अवधिमा वस्तु आयात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ तथा व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबर रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, मुलुकको कुल वैदेशिक व्यापार पनि ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्