Logo

मध्यपहाडी लोकमार्गमा यात्रु सहायता कक्ष

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडवाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरूको असुविधालाई मध्यनजर गर्दै लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । कुश्मा बजारको शिवालयचोक, पर्वत र बागलुङको सिमाना मालढुंगा र पर्वत र कास्कीको सिमाना नजिकै डिमुवामा शुक्रबारदेखि सहायता कक्ष स्थापना गरिएको छ ।
चाडवाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रुहरू ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यसायीका प्रतिनिधि रहने भएका छन् ।
क्षमताभन्दा बढी यात्रु सवारी साधनमा चढाएमा, यात्रुबाट बढी भाडा लिएमा, यात्रुका कुनै सामान हराएमा वा साटफेर भएमा तथा अन्य कुनै अन्यायमा परेमा तत्काल यात्रु सहायता कक्षमा आएर उजुरी दिन सक्ने भएका छन् । उक्त नागरिक सहायता केन्द्र छठ पर्वसम्म जारी रहने छ ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड तथा म्याग्दी–मुस्ताङ सडक र ग्रामीण क्षेत्रमा संचालन हुने सवारी साधनमा व्यवसायीहरूले गर्ने अनियमितता विरुद्ध तत्काल कारबाही गर्नका लागि उक्त सहायता कक्षको ठूलो भूमिका रहने प्रनाउ न्यौपानेले बताए । पर्वत सदरमुकाम हुँदै दैनिकजसो झण्डै एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन् ।
शिवालय चोकमा स्थापना भएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उद्घाटन गरेका छन् । । सो अवसरमा बोल्दै उनले यात्रुहरूको सहजताका लागि चाडवाडको समयमा चौबिसै घण्टा परिचालित हुन प्रहरीलाई निर्देशनसमेत दिए । उनले कोही पनि नागरिक समस्यामा नपरुन भन्ने तर्फ सचेत हुन आग्रह गर्दै समग्र जिल्लाको शान्ति सुरक्षाका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको पनि बताए ।
पर्वतका ग्रामीण सडकमा पनि सवारीसाधन चापको अवस्थालाई हेरेर यात्रु सहायता कक्षा स्थापना गर्ने तयारी गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन न्युरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्